चितवन / भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ । अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि उपकरण जडान गरिएको हो । अस्पतालका वायो मेडिकल ईञ्जिनियर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उक्त उपकरणले २ हजार सिलिण्डर बराबरको ग्याँस अक्सिजन आपूर्ति गर्दछ ।
यस उपकरणबाट अस्पतालको सेन्ट्रल सप्लाईमा अक्सिजन जडान गरिंदै छ । एक हप्ता भित्रमा सम्पूर्ण जडान कार्य सम्पन्न गरेर सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । अक्सिनको माग उच्च रहेको समयमा यसबाट आपूर्ति गर्न सहज हुने खनालका भनाई छ ।
अस्पतालका मेडिकल सुपरिटेडेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार यो उपकरण जडान गरेसँगै अक्सिजन उत्पादनको लागत घट्ने अनुमान गरिएको छ । ट्याङ्करमा तरल अक्सिजन ल्याएर यहाँको ट्याङ्कीमा भरेपछि आवश्यकता अनुसार यसबाट आपूर्ति गर्न सकिने छ ।
युएसएडको अनुदानमा प्राप्त उपकरण मन्त्रालयले भरतपुर अस्पताललाई उपलब्ध गराएको पौडेलले जानकारी दिनुभयो ।
यस अघि अस्पतालमा ग्याँस अक्सिजन प्लान्ट रहेको छ । उक्त प्लान्टबाट २४ घण्टामा ७५ सिलिण्डर बराबरको अक्सिजन उत्पादन हुँदै आएको छ ।
अस्पतालमा आवश्यकता अनुसार अन्यत्रबाट सिलिण्डर मगाएर समेत माग पूर्ति गरिंदै आएको छ । कोभिड १९ को महामारीको समयमा जिल्लामा अक्सिजनको आपूर्तिमा कमी आएको थियो ।
उक्त समयमा उच्च गति (हाईफ्लो) अक्सिजनको आवश्यकता हुँदा पूर्ति गर्न कठिन भएको थियो । सो समयमा भरतपुर अस्पतालमा दैनिक दुई सय सिलिण्डर अक्सिजन माग भएको थियो ।





















