चितवन / “पार्टी एकता जिन्दावाद ” भन्दै नेकपा चितवन कार्यालयमा पार्टी एकीकरणको पक्षमा नेकपा जिल्ला कमिटीलाई युवाहरु लगायतका संघ सस्थाहरुले सयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘सिङ्गो पार्टीलाई मजबुद र एकताबद्ध बनाउन जिल्ला पार्टी मार्फत पार्टी शीर्ष नेतृत्वलाई ध्यानाकर्षण सहित अपिल गर्न चाहन्छौँ ।’ राष्ट्रिय युवा संघ चितवनका संयोजक मधु न्यौपानेले अध्यक्ष यमवहादुर परियार ईन्द्रजित तथा जिल्ला ईन्चार्ज कृष्णप्रसाद खनाललाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझेपछि अध्यक्ष यमबहादुर परियारले युवा वर्गको ध्यानाकर्षणले शीर्ष नेतृत्वमा एकताको लागि दबाब पुग्ने बताए । इन्चार्ज खनालले यस दबाबले पार्टी एकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले ज्ञापनपत्र केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौंमा पु¥याउने र थप दबाबको लागि भूमिका खेल्ने बताए । प्रदर्शनमा बोल्दै युवा तथा बिद्यार्थी नेता सन्तोस पनेरुले नीति र विधि प्रधान पार्टी निर्माणका लागी दवाव सिर्जना गरेको बताए ।

पार्टी एकताको लागि दवाव सिर्जना गर्न कार्यकर्ताहरुले नेकपा चितवन कार्यालयमा धर्ना दिई नारा लगाई प्रदर्शन गरेका छन् । नेकपा जिन्दावाद, पार्टी एकता जिन्दावाद, गुटफुट मुर्दावाद, एमसिसि खारेज गर, नागरिकता बिधेयक पारित गर , पार्टी फुटाउन पाईदैन लगायतका नारा लेखिएका प्लेकार्ड सहित युवा तथा बिद्यार्थी कार्यकर्ताले भरतपुर स्थित पार्टी कार्यालयमा धर्ना र प्रदर्शन गरे । आज दिउँसो एक घण्टा नेकपा पार्टी कार्यालय चितवनमा उनीहरुले प्रदर्शन गरे ।

प्रदर्शनमा युवा संघ सचिवालय सदस्य दिवस पाण्डे , जिल्ला अध्यक्ष मधु न्यौपाने, युवा तथा बिद्यार्थी नेताहरु केशव कडेल, रोहित सुवेदी , सन्तोष पनेरु , अशोक देवकोटा लगायत सहभागी थिए । पार्टी एकतालाई सुदृढ बनाई समाजवादको गन्तव्यमा लाग्न नेताहरूलाई खवरदारि गर्न कार्यक्रम गरिएको युवा संघका नेता दिवस पाण्डेले बताए ।























