काठमाण्डौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्षमा उम्मेद्वारी दिएपछि कसैले आफूलाई चुनौति दिए त्यो स्वीकार्य हुने बताएका छन् ।
दशौं महाधिवेशनको पूर्व सन्ध्यामा मंगलवार राजधानीमा केही सम्पादकहरुसंगको छलफलमा अध्यक्ष ओलीले आफूले अहिलेसम्म उठ्ने नउठ्ने निर्णय गरिनसकेको भन्दै आफू उठेको खण्डमा जोसुकैले दिने चुनौतिलाई सहर्ष स्वीकार गर्ने बताए ।
उपाध्यक्ष डा. भीम रावलको उम्मेद्वारी घोषणालाई आफूबिरुद्धको चुनौति नभएको दावी गर्दै ओलीले रावलले आफूलाई माया गरेर सुझाव दिएको टिप्पणी गरे ।
आफू सकेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहे पनि सर्वसम्मतिका लागि कसैलाई अनावश्यक दवाब नदिने उनको प्रतिवद्धता थियो ।
पत्रकारका जिज्ञासामा ओलीले भने–“अरुलाई मलाई नै सर्वसम्मत बनाउ भनेर दवाब दिन्नँ ।”
चितवन महाधिवेशनले एमाले एक लय र एक तालमा अघि बढ्ने सन्देश दिने बताउँदै अध्यक्ष ओलीले केही ब्यक्तिहरु चोइटिएर एमालेलाई तात्विक क्षति नभएको दावी गरे । फुटेर माधव नेपालको नेकपा(एकीकृत)मा गएका नेता कार्यकर्ताको अनुपातमा ठूलो अनुपातमा एमाले प्रवेश गर्नेहरुको संख्या बढी रहेको तथ्यांक उनले प्रस्तुत गरे । आगामी निर्वाचनबाट एमालेले नै बहुमतको सरकारको नेतृत्व गर्ने भन्दै ओलीले दशौं महाधिवेशनले राष्ट्र निर्माणको एजेण्डा तय गर्ने बताए ।
एमालेले कारबाही गरेको जानकारी गराइसकेपछि संसद, अध्यादेश र निर्वाचन आयोगको जालसाँजीको आडमा पार्टीको मान्यता दिएको एकीकृत समाजवादीलाई आफूहरुले पार्टी नमान्ने बताउँदै ओलीले अवैध पार्टी र त्यसको नेतृत्वलाई महाधिवेशनमा नबोलाइको स्पष्ट गरे ।
प्रचण्ड चुनाव लडेको भन्दैमा चितवनमा महाधिवेशन गर्न नहुने किन भनेर प्रतिप्रश्न गर्दै ओलीले झापामा आएर महाधिवेशन गर्न प्रचण्डलाई सुझाव दिए ।
आफ्नो चाहना पदाधिकारीदेखि केन्द्रिय सदस्यसम्म सबैमा सर्वसम्मति होस् भन्ने भएपनि कसैलाई तँ नउठ् नभन्ने ओलीले स्पष्ट पारे ।
पार्टीमा कुनै पक्षको ब्यवस्थापन नभै महाधिवेशनले छानेका ब्यक्तिहरुको कमिटी बन्ने उनको भनाइ थियो । अब एमालेमा कुनै पक्षको ब्यवस्थापन नहुने भन्दै ओलीले अब एमालेभित्र एउटा मात्रै पक्ष रहेको दावी गरे ।





















