प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले मंसीर ३ गतेपछि आन्दोलनको स्वरुप परिवर्तन गर्दै थप विस्तार गर्ने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरुसंगको छलफलपछि मंगलबार साँझ बसेको बार पदाधिकारी बैठकले आन्दोलनलाई निरन्तरता दिंदै थप ब्यापक बनाउृने निर्णय गरेको बार एशोसिएसनका महासचिव लीलामणि पौड्यालले जानकारी दिए । प्रधान न्यायाधीश राणाले ३ मंसिरसम्म पनि राजीनामा नदिए उच्च अदालतको इजलास भएका १८ स्थानमा पनि विरोध प्रदर्शन गर्ने बारले जनाएको छ ।
सबै स्थानमा बारका केन्द्रीय प्रतिनिधि खटाएर विरोध प्रदर्शनलगायतका कार्यक्रम गर्ने निर्णय भएको हो । बैठकले प्रधानन्यायाधीश राणा सहभागी सार्वजनिक कार्यक्रम बहिस्कार गर्ने निर्णय समेत गरेको छ ।
बैठकले प्रधानन्यायाधीश जबराबाहेक संवैधानिक परिषद्को बैठक राख्न र निकासका लागि पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । साथै न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गर्दै ३ गते नै संसदमा भएका दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।





















