काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेहरुको बिजोग भएको टिप्पणी गरेका छन्।
सिन्धुपाल्चोकमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले १०बुँदे कार्यान्वयन गर भन्नेहरूको बिजोग भएको बताएका हुन्।
कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामाप्रति संकेत गर्दै उनले १० बुँदे कार्यान्वयन गर भन्नेहरूलाई ओलीले हेप्न थालेको बताए। नेपालले भने, ‘आदेशको पालना गर्यो भने स्यावास, उ बस्न पाउँछ।
आदेशको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ। सुन्नुभएको छैन, १० बुँदेको ट्याउँ-ट्याउँ। अब १० बुँदे भन्ने साथीहरुको कस्तो हरिबिजोग।’
१० बुँदे सहमति गरेर एमालेमै बस्नेहरुले पार्टीमा कुनै मर्यादा र सम्मान नपाएको उनको भनाई छ। नेपालले बागमती र प्रदेश १ मा छिट्टै सरकार ढल्ने उनले बताए।
बागमतीमा राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्ने बताए। प्रदेश १ मा यही हप्ता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार बन्ने उनले बताए। सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल र एमाले चौथो दल भएको उनले बताए।
उनले एकीकृत समाजवादी भिन्न प्रवृत्तिको पार्टी हुने बताए। उनले आफूहरु अन्य पार्टीहरूसँग सहकार्य गरेर निर्वाचनमा जाने बताएका छन्। नेपालले आगामी निर्वाचनमा केपी ओली गुटलाई समाप्त पार्ने दाबी पनि गरे।





















