काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन्।
सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। बुधबार काठमाडौंमा आयोजित एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा उनले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले आकलन गर्न सक्ने स्थिति नरहेको दाबीसमेत गरे।
उनले भने, ‘अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार हो।’ यो सरकार टिप्पणी गर्न पनि लायक नरहेको उनले बताए। ओलीले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दाबी पनि गरे।
उनले वर्तमान सरकारमा लोभी पापी मात्रै रहेकाले उनीहरूलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए। ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ। यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं। लोभीपापीहरू छन्, दिए भइगो नि। ढलिहाल्छ नि। दिए सिद्धिने कुरा छ त्यहाँ,’ उनले भने।
ओलीले एमालेको उद्देश्य र अभीष्ट सरकार बनाउने नभई देश बनाउने भएको दाबी गरे। ‘हाम्रो अभीष्ट सरकार बनाउने होइन। देश बनाउने र सरकार बनाउने कुरा फरक छ। देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउँछौं,’ उनले भने। उनले अर्ली इलेक्सन भए आफूहरू मान्न तयार रहेको पनि बताए।
‘अर्ली इलेक्सन भए ठिकै छ, तर यो सरकारले देशको असाधारण बहुमूल्य समय खेर फालिरहेको छ। हामीलाई सबै तहका चुनावमा विजयी चाहियो। हाम्रो निशाना चुनावको तयारी हो,’ कार्यकर्तालाई निर्देशन दिँदै ओली भने।





















