काठमाडौँ / सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागबण्डा टुंग्याएका छन् । आज बिहान बसेको शीर्ष नेताहरूको बैठकले मन्त्रालय भागबण्डा टुंग्याएका हुन् ।
बालुवाटारमा भएको प्रधानमन्त्री एवं छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।
‘मन्त्रालय भागबण्डा टुंगिएको छ’ कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने ‘यसकै आधारमा मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
कांग्रेसले जम्मा सात मन्त्रालय लिने सहमति भएको छ । जसअनुसार कांग्रेसले सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ । कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री पनि लिइसकेको छ ।
नेकपा माओवादी केन्द्रले पाँच मन्त्रालय लिने सहमति भएको छ । माओवादीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने सहमति छ । यसअघि माओवादीले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी)ले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति छ भने जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने सहमति छ ।





















