चितवन / आज सेप्टेम्बर २५ अर्थात् एघारौँ ‘विश्व फर्मासिष्ट दिवस’ को अवसरपारी चितवनमा विभिन्न नारा सहितको प्रभातफेरी कार्यक्रम गरिएको छ। नेपाल फार्मेसी संघ चितवन शाखाको आयोजनामा शनिवार भरतपुरमा सो प्रभातफेरी निकालिएको हो ।
प्रभातफेरीमा उनीहरूले जहाँ औषधि– त्यहाँ फर्मासिस्ट, ह्यापि फर्मासिष्ट डे, लोक सेवामा फार्मेसीको कोटा सुनिश्चित गर, गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो चाहना, कोरोना महामारीबाट बच्न माक्सको अनिवार्य प्रयोग गरौं, सबै फर्मासिस्टहरू एकजुट बनौं, ‘फार्मेसीस् सधैं तपाईंको स्वास्थ्यको लागि विश्वसनीय’, फर्मासिस्ट औषधि पसले होइनन् औषधि विज्ञ हुन्, औषधि अनुसन्धान गर्ने तथा बनाउने व्यक्ति हुन फर्मासिस्ट लगायतका विभिन्न सन्देश मुलक तथा मागसहितका प्ले कार्ड बोकेका थिए।
भरतपुर–१० स्थित चितवन मेडिकल कलेज अगाडिबाट निस्किएको सो प्रभातफेरी हस्पिटल रोड, भरतपुर अस्पताल, मालपोत चोक हुँदै भरतपुर–११ स्थित धावन पार्टी प्यालेस जागृतिचोकमा पुगेको थियो । त्यसपछि त्यहाँ अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
‘वर्तमान अवस्थामा फार्मेसी पेशाका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. अनिलबिक्रम कार्की, एपोनका निवर्तमान अध्यक्ष जीनारायण क्षेत्री, औषधि व्यवस्था विभाग विरगन्जका प्रमुख भाग्यनारायण सिंह, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष अमृत खनाल, संघका चितवन शाखाका अध्यक्ष विनोद पन्तलगायतले बोलेका थिए ।
बोल्ने वक्ताहरूले फार्मेसी स्वास्थ्य क्षेत्रको निकै संवेदशील पाटो रहेको बताएका थिए । सबैभन्दा पहिला आफू दक्ष फर्मासिष्ट बनेर स्थापित हुन समेत अनुरोध गरेका थिए । उनीहरूले वर्तमान अवस्थामा फार्मेसी पेशाका अवसर र चुनौती बारे समेत आफ्नो धारण राखेका थिए ।
नयाँ औषधि पत्तालगाउने, औषधि बनाउने, त्यसको गुणस्तर निर्धारण गर्ने, गुणस्तर चेकजाँच गर्ने, बिरामीको पुर्जामा भएका त्रुटिहरुलाई सच्याउने, औषधि तथा रोगको बारेमा बिरामीलाई उचित परामर्श दिने, अन्य स्वास्थ्यकर्मीहरुलाई औषधिको प्रयोगको सम्बन्धमा आवश्यक जानकारी दिने लगायत बिरामीको हरेक स्वास्थ्यसमस्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा साथ दिने जस्ता क्षेत्रहरुमा फर्मासिस्टको महत्वपूर्ण भूमिका रहन्छ ।
फार्मेसी सन्चालन गर्ने अधिकार फार्मेसी पढेका लाईसेन्स प्राप्त फार्मेसी जनशक्तिलाई मात्र छ । लाइसेन्स भाडामा दिएर आफ्नो व्यवसाय र जनस्वास्थ्यमा असर पर्ने गतिविधी नगर्न समेत उनीहरूले सबैमा अनुरोध गरेका छन् । उनीहरूले फार्मेसी क्षेत्रको विकासको निम्ती सबैलाई एकजुट भई हातेमालो गरेर अघि बढ्न समेत अनुरोध गरेका छन् ।
एकआपसमा शुभकामना आदानप्रदान गर्दै कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिस्ट, सहायक फर्मासिस्ट ९फार्मेसी सहायक० विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थित रहेको थियो ।
नेपाल फार्मेसी संघ फार्मेसी क्षेत्रको पेशागत हकहितको निम्ति निर्माण भएको साझा संस्था हो । अन्तर्राष्ट्रिय स्तरमा समेत मनाइने विश्व फर्मासिस्ट दिवसको अवसर पारी फर्मासिस्टहरुले चितवन लगायत देशभर एकआपसमा शुभकामना आदान प्रदान गर्दै विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् ।






















