काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके भएको बताएका छन्।
शनिबार पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिगको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले सबै दलहरु एकढिक्का भएर प्रतिरोध गर्दा प्रतिगमन परास्त भएको बताएका हुन्।
समाजवादी यात्राको तयारीको लागि कम्युनिस्ट पार्टीमा एकता गरिएपनि प्रतिगमनको नाइकेहरूका कारण एकता नटिकेको प्रचण्डले उल्लेख गरे।
उनले पहिलोपटक भएको संसद विघटनलाई आफूले जनयुद्धकै एउटा रुपका रुपमा लिएको स्मरण गर्दै त्यसलाई प्रतिगमन भनेर युवाहरुले साथ दिएको भन्दै प्रशंशा गरे।
प्रचण्डले आफूहरू सिधा सिधा बुझ्ने भन्दै खासगरी एमाले केपी ओली प्रवृत्ति पछिल्लोपटक सहनु परेको बताए।
‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिँदिनँ, ओली कति राम्रो कुरा गर्थे,’ उनले भने, ‘के को लागि भनेको छ भ्रष्टाचार छोप्नको लागि पो भन्नु हुँदोरहेछ। लेवल एउटा रक्सी अर्कै राख्नुहुँदो रहेछ।’
ओलीसँग सहकार्य गरेर आफूलाई बेकार भने नलागेको उनले बताए। उनले भने, ‘कतिपयले बेकार एकता गरेछ भन्ने पनि भन्लान्, लागेको होला।
मलाई लागेको छैन। कुरा राम्रै थियो, अध्यक्ष पनि प्रधानमन्त्री पनि पालोपालो। ठगी धन्दा रहेछ। तमसुकमा सही गरेपछि हुन्छ होला भन्ने भयो। लगेको लगै पारे।’





















