काठमाडौं / सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा समस्या थप बल्झिँदै गएको छ । शीर्ष नेताहरू आआफ्नै अडानमा अडिग रहँदै आन्तरिक रणनीतिको तयारीमा जुटेका छन् ।
जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् । तर, ओली दुवै पदबाट राजीनामा नदिने अडानमा अडिग छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठसहितका नेताहरू सरकार र पार्टी सञ्चालनमा ओलीले असफल भएको निष्कर्षसहित राजीनामा दिनुपर्ने अडानमा छन् ।
यही विषयमा केन्द्रित भई शुक्रबार ओली र दाहालबीच छलफल भयो । तर, सहमति केही पनि भएन । शनिबार स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वयबीच पुनः छलफल गर्ने भनिए पनि भेटघाट नै भएन् । शनिबार बस्ने स्थायी कमिटी बैठक सोमबार पुनः बस्ने गरी स्थगित गरिएको नेकपा प्रवक्ता श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले शीर्ष नेताहरूबीच छलफलका लागि अझै समय चाहिएकाले बैठक दुई दिनका लागि स्थगित गरिएको बताए । आन्तरिक छलफल गरेर सहमतिका साथ नेताहरू अगाडि बढ्ने र पार्टी बैठकलाई निरन्तरता दिइने उनले बताए ।
नेकपा स्थायी कमिटीका सदस्य जनार्दन शर्माले दुई अध्यक्षका साथै अन्य शीर्ष नेताबीच छलफल गरेर सहमतिको मिलनबिन्दु खोज्ने कार्य जारी रहेको बताए । पार्टी गम्भीर मोडमा पुगेको बताउँदै उनले सहमतिमा नेताहरू आउने विश्वास व्यक्त गरे । तर, नेकपा नेताहरू एकआपसमा छलफल गरी सहमतिका साथ अघि बढ्नुपर्ने भए पनि छलफल भन्दा आन्तरिक रणनीति बनाउँदै अगाडि बढ्ने तयारीमा छन् । नेकपा स्रोतका अनुसार ओली बालुवाटारमा र दाहाल–नेपाल समूह खुमलटारमा बसेर आन्तरिक रणनीति बनाउने तयारीमा जुटेका छन् ।
यसैबीच प्रधानमन्त्री ओलीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किएका ओलीले मन्त्रीहरूसँग छलफल गरे । पार्टीले भने जस्तै प्रधानमन्त्री र पार्टी अध्यक्ष कुनै पनि पदबाट आफूले राजीनामा नदिने आफ्नो अडान उनले सुनाएको एक नेताले बताए ।
यता दाहाल–नेपाल समूहले खुमलटारमा छलफल गरेका छन् । शुक्रबार ओलीसँग भेटघाट गरेका दाहालले आफ्नै निवास खुमलटारमा सचिवालयका नेतालाई बोलाएर छलफल गरेको एक नेताले बताए । छलफलमा दाहाल, नेपाल, खनाल, गौतम, श्रेष्ठ, गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा सहभागी थिए । नौ सदस्यीय सचिवालयमध्ये ६ जना नेताहरू सहभागी भएर अगामी रणनीति तय गर्न छलफलमा जुटेका हुन् ।
नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले समस्या समाधानका लागि अध्यक्षद्वय ओली र दाहालका साथै शीर्ष नेताहरू छलफलमा रहेको बताए । ‘दुवैतिरका विभिन्न पक्षका साथीहरू, दुवै अध्यक्षहरू र अरू सिनियर साथीहरू पनि होमवर्कमा छन्,’ पौडेलले भने ।
सहमतिका लागि दबाब जारी
यसैबीच पार्टीमा देखिएको आन्तरिक शक्ति संघर्षसँगै बढ्दै गएको विवाद समाधानका लागि दोस्रो तहका नेताका साथै केन्द्रीय सदस्य, सांसद, युवा नेताहरूले दबाब जारी राखेका छन् ।
केही केन्द्रीय सदस्य तथा सांसद पुल्चोकस्थित महिला, बालबालिका तथा ज्येष्ठ नगारिकमन्त्री पार्वत गुरुङको निवासमा जम्मा भएर सहमति र सहकार्यका लागि नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेका छन् ।
उनीहरूले पार्टी एकता विरोधी गतिविधि नगर्न र पार्टीलाई मिलेर अगाडि बढाउन ओली, दाहाल र नेपाललाई दबाब दिने तयारी गरेका छन् । मन्त्री गुरुङ, सांसद तथा केन्द्रीय सदस्यहरू यज्ञराज सुनुवार, झपट रावल, गणेश पहाडी, लिलानाथ श्रेष्ठ, सुरेश राई, खिमलाल भट्टराई, श्याम श्रेष्ठलगायत नेताहरूले शीर्ष नेतालाई दबाब दिने तयारीमा जुटेका हुन् ।
पार्टीभित्र विवाद बढ्दै गएपछि स्थायी कमिटी सदस्यहरू र केन्द्रीय कमिटी सदस्यहरू भेला भएर एकताका लागि दबाब दिने रणनीति लिएका छन् । यसअघि कृषिमन्त्री घनश्याम भुसालको निवासमा जम्मा भएर दोस्रो तहका नेताहरूले शुक्रबार भेला भएर नेतृत्वलाई मिलेर अगाडि बढ्न दबाब दिने निष्कर्ष निकालेका थिए । उनीहरूले आफ्नो तर्फबाट नेतृत्वलाई दबाब दिँदै पार्टीलाई फुट्नबाट जोगाउन पहल जारी राखेका छन् ।
यसैबीच नेकपा केही केन्द्रीय सदस्यहरूले शीर्ष नेताहरूका बीचमा छलफल र सहकार्य गर्दै पार्टीलाई विधि, पद्धति र निर्णयका आधारमा अगाडि बढाउन दबाब दिने उद्देश्यले शनिबार दोस्रो दिन पनि धर्ना दिएका छन् ।
जगन्नाथ खतिवडा, डा. विजय पौडेल, ठाकुर गैरे, रामुकारी झाँक्री, दिलु पन्त, हिमाल शर्मा, प्रेमल खनाललगायतका केन्द्रीय सदस्यका साथै पार्टीका कार्यकर्ताहरू धर्नामा सहभागी थिए ।यो खबर राजधानी दैनिकमा छ।





















