काठमाडौं / वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई दुर्घटनामा जानबाट जोगाउन नयाँ दल गठन गरेको बताएका छन्।
भर्चुअल माध्यमबाट ओखलढुंगाका एमाले नेताहरूको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ओलीको अहंकारले कम्युनिस्ट आन्दोलन अब विसर्जनतिर पुगेको बताएका हुन्।
‘केपी ओलीकै कारण देश र कम्युनिस्ट आन्दोलन दुर्घटनामा जान लागेकाले नयाँ पार्टी निर्माण गर्नुपर्ने परिस्थिति आयो। फेरि एकता हुँदैन भन्ने छैन। तर, अहिले कुरा नमिलेकाले नयाँ पार्टी बनाउनुपरेको हो,’ उनले भने, ‘ओलीले पार्टी एकताको ढोका बन्द गरिसकेकाले अब तत्काल एकताको सम्भावना छैन।’
३० मिनेट सम्बोधन गरेका नेता नेपालले ओलीको अहंकारले पार्टी एकता हुन नसकेको बताए। उनले सबै कार्यकर्तालाई उच्च मनोबलका साथ नयाँ पार्टीमा सशक्त ढंगले अघि बढ्न आह्वान गरे। नेता नेपालले एमालेका अधिकांश नेता-कार्यकर्ताले नयाँ पार्टी गठन र संगठन निर्माणमा भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
एमाले अध्यक्ष केपी ओलीसँग पार्टी एकताका लागि समझदारी नबनेपछि नेता नेपालले नयाँ पार्टी गठन गरेका छन्। उनले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। ९५ सदस्यीय केन्द्रीय समिति रहने गरी गठन गरिएको एकीकृत समाजवादी पार्टीको अध्यक्षमा नेपाल रहेका छन्।
निर्वाचन आयोगले भदौ ९ गते सनाखत गराएर नेकपा एकीकृत समाजवादीको प्रमाणपत्र दिने तयारी गरेको छ।





















