चितवन / नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रलाई चित्रवन केबल नेटवर्क र कनेक्ट नेपाल नेटवर्कले पोल भाडा बापत राजस्व बुझाएको छ ।
विद्युत प्राधिकरणले केही दिन देखि बिजुलीको पोल भाडा नतिर्ने केबल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक कम्पनीको तार काट्ने र विस्तारमा रोक लगाउने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
तार विस्तारमा रोक लगाएपछि बिहीबार चित्रवन केबल नेटवर्कले तीस लाख ५५ हजार ६८ रुपैयाँ र कनेक्ट नेपाल नेटवर्कले एक लाख ७७ हजार ९६५ रुपैयाँ राजस्व भुक्तानी गरेको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।
शुक्रबार पनि अन्य केही कम्पनीले पोल भाडा बापतको राजस्व बुझाउने सहमति गरिसकेको उनले बताए । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भने प्राधिकरणको कदमको विरोध गर्दै पोल भाडा नतिर्ने बताएका छन् ।
वितरण केन्द्रले सूचना जारी गरी प्राधिकरणसँग सम्झौता नगरी नेटवर्क केबल विस्तार नगर्न केबल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ । सम्झौता नगरी अटेर गरी केबल विस्तार गरे नियमानुसार कारबाही हुने केन्द्रले चेतावनी दिएको छ ।





















