काठमाडौँ / मौद्रिक नीति २०७८/७९ जारी भएको छ । शुक्रबार गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति जारी गरेका हुन् ।
चालु आर्थिक वर्षदेखि १ करोड रुपैयाँभित्र कर्जा उपभोग गर्ने व्यवसायीलाई आधार तय गर्दा बैंक तथा वित्तीय संस्थाले २ प्रतिशत भन्दा धेरै प्रिमियम जोड्न नपाउने व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा बैङ्क तथा वित्तीय संस्थाको नगद अनुपात ३ प्रतिशतमा यथावत राखिएको छ । ब्याजदर करिडरको तल्लो सीमामा रहेको निक्षेप संकलन दरलाई १ प्रतिशतबाट बृद्धि गरी २ प्रतिशत र रिपो दरलाई ३ प्रतिशतबाट वृद्धि गरी ३/५० प्रतिशत कायम गरिएको छ ।
त्यस्तै करिडरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशतमा यथावत राखिएको छ ।
मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपाली विदेशमा विप्रेषण बैंकिङ प्रणाली मार्फत भित्र्याउन र वचत गर्न प्रोत्साहन गर्न बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम एक प्रतिशत विन्दू थप पाउने ब्याज दिने उल्लेख गरिएको छ ।
त्यस्तै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात क्रमशः १० प्रतिशत, ८ प्रतिशत, ७ प्रतिशत यथावत राखिएको छ । वाणिज्य बैंकबाहेक राष्ट्रिय स्तरका विकास बैंक र वित्तीय संस्थाको चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।





















