काठमाडौँ / नेकपा एमालेको एकता जोगाउन गठित कार्यदलको बैठक सकिएको छ । जेठ १२ गतेपछि निष्क्रिय भएको कार्यदल पुनः ब्यूँतिएपछि सिंहदरबारमा बैठक बसेको थियो ।
बैठकले विवाद सहमति उन्मूख भएको नेताहरूले दाबी गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बनाएको कार्यदको बैठकपछि नेताहरूले विवाद सहमति उन्मूख भएको दाबी गरेका छन् ।
‘कार्यदललाई निरन्तर बढाउने बारे छलफल भयो, आज मूल विषयमा प्रवेश गरेनौँ’, माधव नेपाल समूह कार्यदलका संयोजक भीम रावलले भने, ‘आन्तरिक विषयमा समाधानका लागि प्रयत्न गर्न भोलि बैठक पुनः बस्ने तय भएको छ ।
सोमवारको बैठकमा दुवै पक्षबीच कुराकानी मात्र भयो, कुराकानी राम्रो भयो, अब अर्को छलफल गरेर अगाडि बढ्ने कुरा गरेर हामी छुट्टियौँ’ कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले भने ।
बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र पार्टी एकताका लागि आशावादी हुने ठाउँ देखिएको अर्का सदस्य गोकर्ण विष्टले बताए । पार्टी एकताका लागि संयुक्त मस्यौदाबारे बैठकमा छलफल भए पनि नटुंगिएको बताएका छन् ।
सोमवारको बैठकले मंगलबार १ बजे पुनः बैठक बस्ने सहमति गरेको छ ।
कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजकत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन् । त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन् ।
त्यस्तै ओलीले नेपाल समूहलाई हस्ताक्षर फिर्ता लिन दिएको समय सकिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिन दिएको समय सोमवार साँझ ५ बजे सम्म थियो । तर नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन । ओलीले आफु निकट केन्द्रीय कमिटी बैठकमा ओलीले हस्ताक्षर फिर्ता नलिए एमाले फुट्न सक्ने बताएका थिए ।





















