काठमाण्डौं / नेकपा एमालेका नेता एवं संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले संसदमा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको बताएका छन्।
संसदमा मतदानपछि बाहिर निस्किदै गर्दा उनले यस्ता प्रतिक्रिया दिएका हुन्। ‘प्रधानमन्त्री पदमुक्त हुनुभयो, अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ,’ नेम्वाङले भने। प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन्। प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए।
प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो। प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ। सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए।
तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहे । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहे।





















