काठमाडौं / लुम्बिनी प्रदेशमा ४ सांसद पदमुक्त भएपछि जनता समाजवादी पार्टी (जसपा)मा विवाद सिर्जना भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएका ४ सांसदलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षले पार्टीको निर्देशन विपरित गएको भन्दै कारवाही गरेको थियो।
उनीहरुलाई पदमुक्त गर्न लुम्बिनी प्रदेश सभामा पत्र पुगेपछि बिहिबारबाट उनीहरु पदमुक्त भएको प्रदेश सचिवालयले जनाएको छ।
यसैबीच, जसपाको अर्को पक्षले विरोध जनाएको छ।
जसपाका अध्यक्ष महन्त ठाकुरले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशको संसदीय दलको निर्णय नै आधिकारिक हुने बताएका छन् । लुम्बिनी प्रदेशमा जसपाको प्रदेश समिति गठन नभएकाले प्रदेश संसदीय दललाई नै स्वायत्तता दिइएको उनको भनाई छ ।
‘संसदीय दललाई नै स्वायत्तता दिइएकाले केन्द्रीय स्तरबाट कुनै कारबाही नभएको जानकारी गराइन्छ’, उनले भनेका छन् ।
सांसदहरु सन्तोष कुमार पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई पदमुक्त गरिएको थियो।
डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले पत्र पठाएर उनीहरूलाई कारवाही गर्न माग गरेका थिए ।

यसैबीच, जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले सिन प्रदेश सांसदहरुलाई गरेको कारबाही मान्य नहुने बताएका छन्।
लुम्बिनी प्रदेशसभाका आफ्ना चार जना सांसदलाई पदमुक्त गरिएको विषयमा नेता महतोले फर्जी कारबाही मान्य नहुने बताएका हुन्।
उनले उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले गरेको कारबाही आफूहरुलाई स्वीकार्य नहुने स्पष्ट पारे।





















