काठमाडौं / नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको छलफल देउवा निवास बुढानिलकण्ठमा शुरु भएको छ ।
दिउँसो ३ बजेलाई बोलाएको बैठकमा नेकपा माओवादी र कांग्रेसका शीर्ष नेताहरु निर्धारित समयमा देउवा निवास पुगेपनि जसपाका नेताहरु ढिला आइपुग्दा बैठक एक घण्टा ढिलो शुरु भएको हो । बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु निर्धारित समयमै बुढानिलकण्ठ पुगे पनि जसपाका नेताहरु नपुग्दा बैठक अझै शुरु हुन सकेको छैन ।
जसपाका एक नेताका अनुसार बैठकमा आफ्नो तर्फबाट उठाउने एजेण्डामा बारेमा एकमत हुन आन्तरिक छलफलमा रहेको बताएका छन् । प्राप्त जानकारी अनुसार बैठकमा प्रवेश गर्नु अघि जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष द्वय महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरु आन्तरिक छलफलमा जुटेका थिए ।
देउवा निवासमा अहिले माओवादी केन्द्रबाट प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बूढानिलकण्ठ पुगेका हुन् । त्यस्तै काँग्रेसका शीर्ष नेताहरु र जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्त ठाकुर, अशोक राई सहभागी भएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएका हुन् ।
आज मात्रै सभापति देउवाले काठमाडौंको एक कार्यक्रममा प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव पटक पटक ल्याउन खेजे पनि गणपुरक संख्या नपुगेकोले रोकिएको बताएका थिए ।
ओली विरुद्धको गठबन्धन बनाउन अझै पनि कठिन रहेको भन्दै आफु प्रधानमन्त्रीको रेसमा नरहेको जनाउ दिएका थिए । संसदमा एमाले बाहेक अहिले कांग्रेसको दुई निलम्बित बाहेक ६१ जना, माओवादी केन्द्रको ४ सभामुख बाहेक ४८ जना र जसपाको दुई निलम्बित बाहेक ३२ जना सांसद रहेका छन् । संसदमा प्रधानमन्त्री ओली विरुद्ध बहुमत जुटाउन एक सय ३८ सांसद संख्या आवश्यक पर्छ । जसको नेतृत्वमा सरकार गठन भए पनि जसपा संसदभित्र निर्णायक शक्तिकोरुपमा रहेको छ । जसपाले समर्थन नगरेमा सरकारको विपक्षमा बहुमत नै पुग्दैन ।





















