काठमाडौं / नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ कार्यालय खोल्ने तयारी गरेको छ। बुधबार युवा संघको नयाँ कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले नयाँ कार्यालय खोजिरहेको जानकारी दिए।
‘हामीले पनि भवनको खोजी गरेका छौं,’ उनले भने, ‘राम्रो ठाउँ पाउनु हुन्छ भने खबर गर्नुहोस्। त्यो भन्दा (एमालेको नयाँ कार्यालय) पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ।’ निलम्बनपछि झलनाथ खनाल-नेपाल समूह समानन्तर कमिटी चलाउने निर्णयसहित अघि बढेको छ।
चैत १७ गते सो समूहको स्थायी कमिटी बैठकले समानन्तर रुपमा अघि बढ्ने निर्णय गरेको थियो। नेता नेपालले कम्युनिस्ट आन्दोलनको विर्सजन रोक्नका निम्ति समानन्तर ढंगले सशक्त रुपमा अघि बढ्न जरुरी रहेको बताए। ‘कम्युनिष्ट आन्दोलनको विसर्जन रोक्नका निम्ति सशक्त रुपमा अघि बढ्न जरुरी छ। पार्टीका जनवर्गीय संगठनलाई पार्टी पुनर्गठनको अभियानमा लाग्न म अनुरोध गर्दछु,’ नेपालले भने।
नेता नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीविरोधी गतिविधिमा केन्द्रित रहेको र स्पष्टीकरणको चित्तबुझ्दो जबाफ नदिएकोले अध्यक्ष केपी ओलीले १६ चैतमा ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाएका थिए। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार पुनर्जीवित एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको समूहबीच विवाद उत्कर्षमा पुगेको छ।





















