काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको विशेष बैठक बोलाएपछि पार्टीभित्र विवाद चुलिएको छ ।
माधव नेपाल पक्षले भने यसलाई पार्टी कब्जा गर्ने षडयन्त्र बताएको छ ।
विशेष भेलाले आगामी चैत ७ गते बोलाएको केन्द्रीय समितिको बैठक नै वैधानिक नभएको यो पक्षको ठहर छ ।
ओलीले भने आउँदो ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको उल्लेख गर्दै नेताहरूलाई त्यसमा आउन सार्वजनिक मञ्चबाट निम्तो दिएका छन् ।
शनिवार अखिल नेपाल महिला संघको आफूपक्षीय भेलामा उनले उक्त बैठकमा नआए विधानअनुसारको प्रक्रिया अघि बढ्ने भन्दै खनाल–नेपाल समूहविरुद्ध कारबाही अघि बढाउने संकेत दिएका छन् । एमालेको २०७१ सालको नवौं महाधिवेशनबाट संशोधित विधानमा पार्टीको बहुमतले निर्णय गर्ने उल्लेख छ । विधानको धारा ४९ (क) मा पार्टीभित्र गुटबन्दी गरेको, षड्यन्त्र गरेको लगायतमा अनुशासनको कारबाही गर्न सक्ने प्रावधान छ । त्यस्तै धारा ४९ (च) मा लगातार तीन पटकसम्म कमिटी बैठकमा बिनासूचना र बिनाकारण अनुपस्थित रहे कमिटी सदस्यता स्वतः समाप्त हुने प्रावधान छ । ओलीले सार्वजनिक मञ्चबाटै विधानअनुसार अघि बढ्ने भन्दै खनाल–नेपाल समूहलाई यही कारबाहीको प्रावधानतर्फ संकेत गरेका हुन् ।
तर उनले बोलाएको ७ गतेको बैठक नै अवैधानिक हुने भएकाले त्यसको अर्थ नहुने विश्लेषण खनाल–नेपाल पक्षले गरेको छ । केन्द्रीय कमिटीमा शुक्रबार ओलीले थपेका २३ जना केन्द्रीय सदस्य अवैध रहेको र उनीहरू सम्मिलित बैठकको हैसियत गुट भेलाको जस्तो मात्र हुने उनीहरूको ठम्याइ छ ।
शनिबार माधव नेपाल पक्षले केन्द्रीय समिति सदस्यसँग छलफल गरेको थियो । छलफलमा नेता नेपाल र खनालले एमाले पार्टी आफूहरुले निर्माण गरेकोले ओलीले कब्जा गर्न नसक्ने बताएका थिए ।
खनालले ओलीले जबर्जस्ती गर्दैमा आफूहरू चुप लागेर नबस्ने धारणा राखेका थिए । ‘एमाले पार्टी हामीले बनाएको हो, केपी ओलीले निकाल्दैमा हामी निक्लने हुन्छ ?’ वरिष्ठ नेता खनालले भेलामा भनेका थिए, ‘अप्ठेरो पारेर उनी पार्टी कब्जा गर्न खोज्दै छन् ।’ खनाल र नेपालले ओलीसँग गैरराजनीतिक हुल्लडबाज मात्र रहेकाले त्यो मूलधार हुन नसक्ने तर्क गरेका थिए ।





















