काठमाडौं / आज बालुवाटारमा बसेको केन्द्रिय कमिटिको बैठकले महासचिव बाहेक पुनस्थापित एमालेका सबै पदाधिकारी खारेज गरेको घोषणा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका राम बहादुर थापालाई वागमति प्रदेशको इन्चार्ज र लेखराज भट्टलाई सुदुरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी ओलीले तोकेका हुन्।
प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा मणि थापा इन्चार्ज तोकिएका छन् ।
बालुवाटारमा बसेको बैठकमा ओलीले सबै निर्णयहरु सुनाएका थिए भने असन्तुष्ट माधव नेपाल पक्षलाई बैठकबारे खबरै गरिएको थिएन । माओवादी समुहबाट आएका २३ जनालाई केन्द्रिय समितिमा राखिएको छ ।
संगठन विभाग प्रमुखको जिम्मेवारी विष्णु पौडेल, प्रचार विभाग तथा प्रवत्ताको जिम्मेवारी प्रदीप ज्ञावली र विदेश विभागको जिम्मेवारी राजन भट्टराईलाई दिएका हुन् । यसैगरी एमालेको महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय समेत गरेको बताइएको छ ।
नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने ओलीले बैठकमा जानकारी दिएका छन् ।
अर्को बैठक चैत्र ७ गते बस्ने र नेपाल पक्षलाई पनि खबर गर्न ओलीले महासचिवलाई भनेको एक सहभागीले बताए ।
०७१ को नऔं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए ।
३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव बने । नेकपामा बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो ।
संगठनका कुनैपनि जिम्मेवारीमा नेपाल पक्षलाई राखिएको छैन ।





















