रुपन्देही / कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको झगडाको तमासा हेर्ने फुर्सद नभएको बताएका छन् । कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेकपाको झगडाको तमासा हेर्न आफूहरूलाई फुर्सद नभएको बताए ।
अहिले मुलुक गम्भीर अवस्थामा पुगेको बताउँदै कांग्रेसको काँधमा जनताका अधिकार स्थापित गर्ने जिम्मेवारी आएको बताए ।’हामीलाई राजाले निकै दुस्ख दिए, कम्युनिस्टलाई राजाले हुर्काएका हुन्,’ उनले भने, ‘अहिले यिनै कम्युनिस्ट राजा बने ।’नेकपाको आन्तरिक झगडाप्रति कांग्रेसलाई कुनै रुचि नभएको पनि सभापति देउवाले बताए ।
यी दुई समूहमध्ये कसैले पनि सूर्य चिन्ह नपाउने भए आयोगले समयमै यसबारे छिनोफानो गरिदिनुपर्ने देउवाको भनाइ छ।
‘कसलाई सूर्य चिन्ह दिने भन्ने निर्णय अहिलेसम्म गर्न नसक्ने ?,’ निर्वाचन आयोगप्रति प्रश्न गर्दै देउवाले भने, ‘सबैभन्दा बेस त चुनाव चिन्ह अरू नै दिए भइहाल्यो। सूर्य एउटै छ, दुइटा पार्टीलाई एउटा चिन्ह कसरी दिने ?’
सूर्य चिन्ह एउटा र नेकपाभित्र दुइटा समूह भएकोले सूर्य चिन्ह बाँड्न नमिल्ने देउवाले बताए।
‘कुनै बेला पनि चुनाव हुनसक्छ,’ उनले भने, ‘तर हाम्रो आयोगले अहिलेसम्म किन केही बोल्दैन ।’नेकपाको विवाद पनि आयोगले छिटो टुंग्याउनुपर्ने देउवाले बताए ।’नेकपाको विवाद टुंग्याउन अदालतको निर्णय कुर्नु पर्दैन,’ उनले भने ।





















