काठमाडौं / नेकपा प्रचण्ड-नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा ग¥यो। प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको थियो।
सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले जानकारी दिइन्।
आमहड्तालमा नेकपाको प्रचण्ड–नेपाल पक्ष बिहानैदेखि सक्रिय भएसँगै सत्तापक्षीय साइबर सेनाहरु पनि बिहानैदेखि सामाजिक सञ्जालमा सक्रिय रहे। उनीहरुको सक्रियतासँगै सामाजिक सञ्जालमा आमहड्तालको क्रममा भएको भन्दै विभिन्न खाले तस्वीरहरु पनि देखिन थाले।
देश विदेशमा भएका विभिन्न आन्दोलनका फोटोहरु राखेर उनीहरुले प्रचार गरेका हुन्। उनीहरुले आन्दोलनकारीले किसानका तरकारी भुँइमा फ्यालेको, गाडी जलाएको, एम्बुलेन्स तोडफोड गरेको जस्ता तस्वीर राख्दै आतंक मच्चाउन खोजेका हुन्।
धेरैले भुँइभरि तरकारी फ्यालेको फोटो राखेर आन्दोलनकारीको विरोध गरेका छन्। यसरी राखिएको तस्वीर सेयर गर्नेमा सामान्य नागरिकदेखि शिक्षित तथा समाजका प्रतिष्ठित विद्वान वर्गहरुसमेत रहेका छन्। तर यसरी प्रचार गरिएका अधिकांश तस्वीरहरु फेक रहेको पाइएको छ।
१.

यो तस्वीर बिहानैदखि बन्दकर्ताले किसानको फलफूल तथा तरकारी सडकमा मिल्काइदिएको भनेर सामाजिक सञ्जालमा प्रचार गर्दै बन्दकतालाई गाली गरियो। धेरै सेयर गरिएको र धेरैले प्रतिक्रिया जनाएको तस्वीर हो यो। तर यो तस्वीरको बास्तविकता के हो भने यो तस्वीर नेपालको नै होइन। यो तस्वीर छिमेकी राष्ट्र भारतको राज्य महाराष्ट्रको हो। यो तस्वीर पनि हालसालैको होइन। यो तस्वीर सन् २०१७ को हो। यो तस्वीर महाराष्ट्रमा भएको किसानहरुको हडतालको क्रममा लिइएको थियो। यो किसान हडतालको समाचार यो लिङ्कमा पढ्न सकिन्छ।
२.

सामाजिक सञ्जालमा आज भाइरल बनाइएको अर्को तस्वीर हो यो। बन्दकर्ताले बिरामी बोकेर आएको एम्बुलेन्समा आक्रमण गरेको भन्दै यो तस्वीरको प्रयोग गरियो। बिरामीलाई दुख दिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले यो फोटो सेयर गर्दै आलोचना पनि गरे। तर यो फोटो पनि आजको होइन। यो फोटो आजभन्दा ६ वर्ष पहिलेको हो। यो फोटो २०१२ मे २१ को हो। यो एम्बुलेन्स पर्वतको बिरामी बोकी पोखराको पृथ्वीनारायण चोकमा आइपुगेको थियो। जसलाई साइबर सेनाहरुले आजको घटनाको रुपमा प्रचार गरे। युनाइटिङ युथ, युनाइटिङ नेपाल नामक फेसबुक पेजमा यो फोटो पाइएपछि उनीहरुको पोल खुलेको हो।

३. यो घिरौलाको सिजन होइन। तैपनि बाटोभरि घिरौला बन्दकारीहरुले फ्याकिदिए भनेर प्रचार गरिएको पाइयो।

र यो पनि पूरानो फोटो हो। यो २०१८ मा बिक्री नभएको तरकारी सर्लाहीका किसानले फ्याकी बिरोध गरेको बेलाको हो। सहकारी नेपाल डटकममा त्यतिबेला नै प्रकाशित भएको तस्वीर हो यो। यो समाचार अच्चुतम सापकोटाले लेखेका थिए। यो समाचार यो लिङ्कमा गएर पढ्न सकिन्छ।
४.

यो तस्वीरमा विरामी बोकेर एकजना हिडिरहेको देखिन्छ। व्यापक पुलिसको उपस्थिति भएको देखेर बन्दको बेलाको नै हो भन्ने अनुमान गर्न सकिन्छ। आज बिहानैदेखि बन्दले दुख पाएको नागरिकको रुपमा यो फोटो आजकै जसरी प्रचार गरिएको छ। तर यो फोटोलाई जुम गरि विजुलीको पोलमा भएको बोर्डलाई हेर्दा ‘मेरो मोवाइल’को विज्ञापनको बोर्ड देख्न सकिन्छ। तर, मार्च २०१० मा मेरो मोवाइल आधिकारिक रूपमा एनसेल बनिसकेको छ।

माथीका तस्वीरहरु केही प्रतिनिधि तस्वीर त त्यसको वास्तविकता मात्रै हो। प्रचारित अनेक तस्वीरहरुमध्ये बिहीबार बिहानै बालाजुमा जलाएको ट्याक्सीबाहेक अन्य प्राय फोटोहरु पूराना तोडमाेड गरिएको पाइएको छ।
निश्चय नै बन्दले न जनताको हित गर्छ न देशको नै। तर राजनीतिक दलहरुले बाध्यात्मक अस्त्रको रुपमा यसलाई प्रयोग गर्दै नै आइरहेका छन्, भलै सत्तामा हुँदा विरोध गरेका हुन्। तर समाजिक सञ्जालमा आजकाल प्रचारित र प्रसारित सबै फोटो वास्तविक भने नहुन सक्छ। यसरी साइबर सेनाले ओलीको प्रतिरक्षा गर्ने नाममा केपी ओलीको नाक नै काटिदिएका छन्। (लोकपाटीबाट )





















