चितवन / प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । बुढेशकालमा अर्थहीन ढंगले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल हिँडिरहेको उनको भनाइ थियो ।
प्रतिनिधिसभा विघटन भएपछि ओलीको विरोधमा रहेका प्रचण्ड, नेपाल र खनालको नामै नलिइकन उनले भने, ‘तीन वटा प्रधानमन्त्री (पूर्वप्रधानमन्त्री) लौरो टेकेर लुखुरलुखुर हिँड्नु भएको छ, देशभरी लाइन लागेर हिँडुनु भएको छ बुढेशकालमा ।’
‘ उहाँहरुको उद्देश्य राम्रो भएको भए स्वागत गर्न मिल्थ्यो । तर पार्टी ध्वस्त पार्ने र देश बर्बाद गर्ने मनसाय उहाँहरुमा छ’, चितवनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले थपे ।
ओलीले आफू सहभागी कार्यक्रममा चितवनका विघटित प्रतिनिधिसभाका सांसद र भरतपुर महानगरपालिकाका मेयर समेत नआएको भन्दै कटाक्ष गरे । उनले मेयर रेणु दाहाल कार्यक्रममा नआएर पिकनिक खान गएको भन्ने झूटो आरोप लगाए ।





















