काठमाडौं / नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने बताएका छन्।
मार्क्सवादी ज्ञान केन्द्रले शनिबार आयोजना गरेको संसद् विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तरक्रिया कार्यक्रममा भट्टराईले वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भए पनि संविधानको विषयमा व्यावसायिक धर्म भनि जान नमिल्ने बताएका हुन्।
संविधानमाथिको प्रश्नमा वकिलहरु व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने उनको भनाइ छ। भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली द्रूत गतिमा दक्षिणपन्थी बाटोमा लागेको आरोप पनि लगाए। उनले संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेकाले तिनै मुद्दालाई संशोधन गर्न दुई तिहाइ मत मागेको बताए। नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकाले संविधानप्रति आफूहरुको लगाब र स्नेह रहेको उनको भनाइ छ।
पार्टीभित्र फरक मत र विचार राख्दा त्यसलाई सिध्याउने प्रवृत्ति ओलीमा रहेको उनले बताए। भट्टराईले भने, ‘पार्टीभित्र फरक विचारलाई स्वीकार गर्नु हुँदैन। नेताहरूको अस्तित्व स्वीकार गर्नु हुन्नँ। आजको घटना त्यसकै परिणाम पनि हो।’ उनले अब पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गरिने बताए।
अहिलेको आन्दोलनले नयाँ पार्टीको लागि वैचारिक बहस सिर्जना गरिरहेको पनि उनले बताए। ‘अब हामी नयाँ खालको पार्टी निर्माण गर्छौँ, पार्टीमा भिन्न संस्कृतिको विकाश हुन्छ,’ भट्टराईले भने, ‘भिन्न विचार राखेको आधारमा कतल्याम गरिने छैन। आन्तरिक लोकतन्त्र सुनिश्चित हुन्छ। प्रत्येक सदस्यले आफ्नो नेता छान्ने छन्। प्रतिस्पर्धाबाट नेता छानिने छन्।’
उनले अगाडि भने, ‘स्वतन्त्रतापूर्वक आफ्नो विचार राख्न पाउने पार्टी निर्माण गर्छौं। वैचारिक ढङ्गले नेतृत्व छानिने छ। पार्टीमा सबै समान हुनेछन्। विधान त पार्टी सञ्चालन हुने छ। सार्वभौम सत्ता सदस्यहरूमा निहित हुन्छन्। पार्टी नेता सदस्यहरूले श्रम गरेर खान्छन्। पार्टीको नाममा राज्यलाई लुट्दैनन्।’
भट्टराईले केपी ओली समूहलाई गुण्डा नाइकेहरूको समूहको संज्ञा पनि दिए। उनले ओली समूहले पार्टीको नाममा राज्यलाई लुटिरहेको बताए। भट्टराईले केपी ओली समूह अराजनीतिक समूह भएको बताए। ‘केपी ओलीले पार्टीलाई अराजनीतिक दिशामा लिए। पार्टीमा अराजनीतिक समूह बलियो भयो,’ उनले भने, ‘आज केपी ओली समूहले राज्यलाई लुटिरहेका छन्। गुण्डाहरुले पार्टी चलाई रहेका छन्।’





















