काठमाडौं / तत्कालिन माओवादीका लडाकुहरुको संगठन पूर्व जनमुक्ति सेना तथा वहिर्गत बाल सेनाहरुको संगठनहरु केपी ओली नेतृत्वको नेकपालाई साथ दिन तयार भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्व लडाकु प्रतिनिधिमण्डलको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको भावनाको सम्मान गर्ने र उचित व्यवस्था गरिदिने बताएपछि उनीहरु ओली समूहमा लाग्न तयार भएका हुन। पूर्व लडाकु संगठनका अध्यक्ष टुकवहादुर थापा (अर्जुन) र वहिर्गमित वाल सैनिक संगठनका लेनिन विष्ट सहितका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई भेटेका थिए।
छलफलका लागि पुगेका उनीहरूले संगठन नै ओली नेतृत्वको नेकपामा समाहित गर्ने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।
भेटमा प्रधानमन्त्री ओलीले घाइते अपांग पूर्व लडाकुको उपचार सरकारले व्यहोर्ने गरि मन्त्रिपरिषदले निर्णय गरिसकेको र पूर्व लडाकुलाई राज्यको तर्फबाट परिचयपत्र दिने र राज्यका विभिन्न निकाय तथा पार्टीका विभिन्न संरचनामा समायोजन गर्ने बताएका थिए।
त्यस्तै शहीद परिवारका एक घर एक रोजगारको लागि पनि तत्कालै प्रक्रिया थाल्ने प्रधानमन्त्रीले आश्वासन दिएको बताइएको छ।


भेटमा सहभागी बिष्ट नेतृत्वका पूर्व लडाकुहरुले पार्टी र सरकारबाट यथोचित न्याय र सम्मानको अपेक्षा गरेको बताएका थिए।
राष्ट्रको लागि आफूहरूले विगतमा गरेको योगदानको उचित कदर हुनुपर्ने पूर्व लडाकुको मागलाई प्रधानमन्त्री ओलीले उचित कदम चाल्ने आश्वासन दिएका थिए।
जनयुद्धमा गरेको त्याग, योगदान र बलिदानप्रति सम्मान व्यक्त गर्दै कमाण्डरहरूलाई नेतृत्वबाट विगतमा जस्तो धोका नहुने ओलीको भनाई थियो। उनले सबै समस्याको हल आफूले गर्ने पनि बताएका छन्।





















