असारको महिना छ ।बाहिर झमझम पानी परिरहेको छ ।झ्यालको आडैमा बसेर कान्छी पानीले भिजेका चिल्ला सडक नियाल्दै छिन् । पानी नै परेपनि ती सडकमा केही मानिसहरू ओहोरदोहोर गरिरहेकैछन् ,गाडीहरू गुडिरहेकैछन् । मानिसको भिडले भरिने चोकका ती पसलहरु आजखाली छन् । कोही आउला कि भन्दै आशैआशमा ग्राहक कुर्दै बसेका पसलेहरु निकै निन्याउरा देखिन्छन् ।
डोको भरी फलफूल र तरकारी लिएर घर घरमा बेच्दै हिडिरहेका ती साना व्यापारीहरु उत्तिकै निराश छन् । कान्छीको मन पनि निकै अशान्त छ ।अवस्था पहिलेको झैँ सामान्य कदापि छैन । आज लकडाउनमा बसेको चार महिना भैसक्यो ।यो बेला नत उनको पढाई नै चलेको छ,नत जागीर नै ।महङ्गो भाडा तिरेर सहर को एउटा कोठामा आफ्नी एक्ली आमा र बहिनीसँग बस्दै आइरहेकी थिइन् उनी ,चार महिनाको भाडा तिर्न बाकी नै छ तर कहिले तिर्ने उनलाई केही थाहा छैन । अब त रासन पनि सकिदै गयो तर राहतको नाउँमा उनको हात खाली छ।रसाएका उनका आ ँखाले गाउँको त्यो आँगनलाई निकै याद गरिरहेको छ । बारी भरी फल्ने मकै अनि करेलाको झ्याङलाई निकै सम्झिरहेकी छिन् ऊनी।
एकछिन पनि फुर्सद नपाई दिनभरी परिश्रम लगाएर धान रोपिने क्षणहरु उनका दिमागमा घुमिरहे ।रोपारहरुले गाउने असारे गीत उनका कानमा गुन्जिरहे ।तर आज उनको अवस्था निकै फेरिएको छ ।जताततै शून्यता लाग्छ उनलाई ।रोगको डर त छदैछ तर भोकको पिरले निकै सताएको छ ।कान्छी त केवल प्रतिनिधि पात्र मात्र हुन् ।आज यो समाजमा कान्छी जस्ता लाखौं मानिसहरु छन् जोरो गलेभन्दा पनि भोकले मरिने पिरले निकै चिन्तित छन् ।
दिनहरू यस्ता आइपर्लान् भनेर आखिर कस्ले पो सोचेको थियो र । प्रकृति देवीको काखमा रहेका अनेकौं सृष्टि मध्ये बलवान्र बुद्धिमान प्राणीका रुपमा परिचित हामी मानिस आज सुक्ष्म भाइरसका कारण कमजोर बन्दै गइरहेका छौँ ।हामी मानिस सामाजिक प्राणी हौं तर आज हाम्रो यही गुण माथि दैवलागेछ क्यारे ,एक अर्का बीच दुई मिटरको दुरी राखेर हिँड्न बाध्य छौँ ।हाम्रो सामाजिक पक्ष मात्र होइन अर्थ ,शिक्षा ,स्वास्थ ,रोजगार आदि विविध पक्षमा ठुलो प्रश्न चिन्ह खडा भएको छ ।हामी आज अन्योलमा छौँ ,भोलि के हुने हो कसैलाई थाहा छैन ।
लकडाउनमा बसेको आज चार महिना भैसक्यो तर जति दिन बित्दै गयो,अवस्था उति नै प्रतिकुल बन्दै गइरहेको छ ।सहर बजारको माहोल हिजो आज निकै फेरिएको छ ।शिक्षा र रोजगारका निम्ति सहर पसेकाहरु अब धमाधम गाउँ फर्कन थालिसकेका छन् । घर भाडा बाटै गुजारा गर्दै आइरहेका घर धनीहरु अब के खाने ,के लाउने र कसरी बाँच्ने भन्दै कुरा सोच्न मै तल्लीन छन्। सुरुसुरुमा त राहतका नाउँमा धेरै थोक बाँडिए ।हुने खानेले पनि पाए, हुँदा खानेले पनि पाए ।तर हिजोआज राहतका नाउँमा एउटा चरो मुसो पनि भेटिदैन।खाने मुखलाई जुँगाले त नछेक्ने रहेछ ।विद्यालयको दैलो टेक्न नपाएपनि विद्यार्थीहरु अनलाइन कक्षाबाट ज्ञानको भोक मेटाइ रहेका छन् ।
वैकल्पिक माध्यमबाटै भएपनि मिहिनेत नैगरेर ज्ञान बाँडिरहने ती शिक्षक कर्मचारीहरु तलब विना नैआफ्ना काममा तल्लीन देखिन्छन् । रोगका कारणले भन्दा पनि घरायसी ,आर्थिक र अन्य विविध कारणले ज्यान गुमाउनेको संख्या निकै उच्च छ।हिजो राष्ट्र कुन अवस्थामा थियो रआज हामी कुन अवस्थामा छौँ ।यी दुई समय बिचको भिन्नता निकै ठुलो छ र भोलि यही समयले कुन रुप लिने छ हामी सोच्न पनि सक्दैनौं । हो ,नेपाली जनजीवन दिनानु दिन कष्टकर बन्दै गइरहेको छ ।
यो समस्या हाम्रो परिवेशलाई मात्र होईन ,आज सिङ्गो विश्व नै यिनै समस्या ग्रसित बनेको अवस्था छ ।यस्तो लाग्छ ,प्रकृतिले हाम्रो परीक्षा नै लिइरहेको छ ।मर्नु भन्दा बौलाउनु नै जाती हुने रहेछ ।त्यसैले कोभिड १९ महामारीको अवस्थामा हामी आफू सतर्क रहेर,सावधानी अपनाएर हाम्रो दैनिक क्रियाकलापलाई अघि बढाउनुपर्ने बेला आएको छ ।अब पनि राहत आउला,अनि खाउँला, अवस्था सामन्य होला र काम गरौंला भनेर कदापि हुँदैन ।पढाई र पदले हामीलाई जति नै माथि पुर्याएपनी समयले त्यही कुटो ,कोदालो ,हिलो र माटो गर्दै अन्न उब्जाउन बाध्य पारेको अवस्था छ ।जसरी हाम्रा बाबु बाजेले दैनिकी चलाएका थिए ,आज त्यही दैनिकी अँगाल्नु पर्ने अवस्था सिर्जित छ।
ती बाझा खेत र बारीमा श्रम गरि कृषि कर्मतिर लागेर अनि जे छ त्यसैलाई सदुपयोग गर्दै यो लकडाउनको अवस्थामा साँझ विहानको छाक टार्न मात्रै सके पनि आजको अवस्थामा हाम्रा लागि यही नै ठुलो राहत हुने थियो ।वास्तवमा सास रहे त आश रहने हो।विद्यालयको आँगन सम्म पुग्न नपाए पनि विविध सञ्चार माध्यमको उचित सदुपयोगले हाम्रो ज्ञानको भण्डारलाई केहि हदसम्म भरिलो बनाउने छ।
शिक्षा आर्जन गर्नु भनेको सर्टिफिकेट प्राप्त गर्नु मात्र होइन ,जीवन जिउन सिक्नु पनि शिक्षा नै हो।त्यसैले घरायसी कामकाज ,कृषिकर्मतिर विध्यार्थिहरुलाई सम्लग्न गराउनु फाइदा जनक नै हुन्छ ।लकडाउनले हामीलाई परिवारसँङ समय व्यतीत गर्न अवसर दिएपनि कतिपय अवस्थामा यहि सामीप्यता बढी भएकै कारणले अभिभावक र बालबालिका बीचको सम्बन्धमा क्लेस निम्ति रहेको पक्षलाई हामी नकार्न सक्दैनौं ।त्यसैले हरेक अभिभावकले आफ्ना बाबु नानीको मनस्थिति बुझेर परिस्थिति अनुसारको व्यवहार गर्न जान्नुपर्छ ।यो लकडाउनको अवस्थामा मुख्यत कमजोर आर्थिक पक्षले मानिसको मानस पटललाई नकारात्मक उर्जा प्रदान गर्नु स्वभाविक नै हो।तर हामी आफै संयमित बनेर आफू अनि आफ्नो परिवारलाई सकारात्मक उर्जा प्रदान गर्न तर्फ लाग्ने हो भने विविध किसिमका मानसिक तथा पारिवारिक समस्याहरु हल हुने थिए ।
त्यसैले पहिला हामी बाँच्न सिकौं ।आज बाँच्न सके नाँच्न सक्ने छौँ ।यस प्रकारको विपतबाट सिङ्गो विश्व नै आक्रान्त बनेको अवस्थामा मनोबल उच्च गराउदै सकारात्मक रहेर सावधानी अपनाउदै हाम्रो दैनिकी सहज बनाउन सक्ने हो भने यस विपत्तिमाथि सिङ्गो मानव जातिले विजय हासिल गर्ने छ । त्यसैले आज पंख फिजाउदै उड्न नसकेपनि भोलि पुनः उड्ने आशमा हामी हाम्रो वर्तमानलाई घरै बसि सजाउन सक्नुपर्छ । अनि मात्र मानव हुनुको सार्थकता रहन्छ ।





















