चितवन / भरतपुर महानगर प्रमुख रेनु दाहालले नेकपाको केन्द्रीय राजनीतिमा भएको प्रभावले विकासमा कुनै बाधा नपर्ने बताएकी छन् । उनले भनिन्, ‘केन्द्रीय राजनीतिमा अहिले विवाद छ, त्यसले यहाँको विकासमा कुनै समस्या आउँदैन ।’
सातौँ नगरसभाका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मेयर दाहालले भनिन्, ‘केन्द्रिय राजनीतिको प्रभाव भरतपुरमा पर्न नदिन सिंगो महानगर प्रतिवद्ध छ, विकासमा कुनै समस्या हुनेछैन ।’
विकास र समृद्धिका लागि केन्द्रको राजनीतिले स्थानीय तहमा समस्या ल्याउन हुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउँदै प्रमुख दाहालले भनिन्, ‘ विकास र समृद्धिको लागि राजनीतिका आएको उतारचढापले प्रभाव पर्नुहुँदैन भन्ने मान्यता राखेका छौँ ।’ जनताले विकास र समृद्धिको लागि मत दिएका हुनाले यसमा आफू प्रतिबद्ध भएर अघि बढेको प्रमुख दाहालको भनाइ छ ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीमा निर्माण सम्पन्न भएको अम्व्रेला स्ट्रिट आर्कषक पर्यटकीय केन्द्र बनेको छ । भरतपुर महानगरपालिकाले गरेको तीन वर्षको समीक्षात्मक कार्यक्रममा प्रमुख रेनु दाहालले पटिहानीमा निर्माण गरिएको अम्व्रेला स्ट्रिट नवीन पर्यटकीय केन्द्र बनेको बताइन् ।
उनले भनिन्, ‘अम्व्रेला स्ट्रिटको निर्माण सम्पन्न भएपछि विशेष गरी आन्तरिक पर्यटकहरु घुम्न गइरहनुभएको छ, यो नौलो पर्यटकीय केन्द्रको रुपमा विकास भइरहेको छ ।’
भरतपुर महानगरपालिका, वडा कार्यालय र पर्यटन मन्त्रालयको लगानीमा बनेको यो स्ट्रिट आन्तरिक पर्यटकहरुको घुइँचो छ । छाता झुन्ड्याइएको आकर्षक सडकमा पर्यटक हिँड्ने अवसर पाउने छन् । पानीको फोहोरा, आकर्षक लाइटसहितको यो सडकबाट साँझको सूर्यास्त र चितवन राष्ट्रिय निकुञ्जका जंगली जनावरहरु हेर्न सकिने भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जको तटीय क्षेत्र पर्ने राप्ती नदीको तटीय क्षेत्र पटिहानीको घट्गाईमा यो स्ट्रिट निर्माण गरिएको महानगरले जनाएको छ । सडकमा नै खानाहरु राखेर रात्रिकालिन सडकको रुपमा यसलाई विकास गर्न सकिने महानगरको भनाइ छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर बनाइएको यस सडक झण्डै आठ गठ्ठा जग्गामा फैलिएको छ ।
चितवनको पटिहानी पनि एक सय पर्यटकीय गन्तव्यभित्र परेकोले धेरै भन्दा धेरै पर्यटक आकर्षण गर्न यसप्रकारको अब्रेला स्ट्रिट बनाइएको महानगरले जनाइएको छ । पटिहानी जंगल सफारी, गाडा सयर, थारु संस्कृति लगायतमा प्रशिद्ध रहेको ठाउँ हो । यस्तै, भरतपुर महानगरले यस आर्थिक वर्षमा विभिन्न वडामा ७३ वटा मठमन्दिर निर्माण गर्ने योजाना अनुरूप हालसम्म ३७ वटा योजनाको सम्झौता भई निर्माणको चरणमा रहेको जनाएको छ ।






















