चितवन / राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर चितवनमा झाँकी सहितको पदयात्रा निकालिएको छ । केन्द्रीय बस ट्रमिनलबाट निस्केको पदयात्रा हाकिमचोक–चौविसकोठी–मालपोत चोक–हुलाकचोक हुदै पुनः बस ट्रमिनल पुगेको थियो । पदयात्रामा राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा नारा लगाइएको थियो । पदयात्रामा थारु, तामाङ, मगर लगायतका जातजातीको सांस्कृतिक झाँकी निकालिएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले हिन्दु राज्य सहितको राज संस्थाको माग गरेका छन् । २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह २०७७ मा वोल्ने बक्ताहरुले यस्तो माग गरेका हुन ।
कार्यक्रममा बोल्ने बक्ताहरुले हिन्दु राज्य सहितको राजसंस्था स्थापना भएमा अहिलेको बेथिति अन्त्य हुने बताएका थिए । बागमती प्रदेश सभा सदस्य रिना गुरुङले अहिले देखिएका सबै समस्याको समाधान राजसंस्थाबाट हुने बताउनुभयो । उहाँले भन्नुभयो “राजसंस्था हुँदा बिदेशी निती, एकतामा कुनै आँच आएको थिएन । अहिले जताततै वेथिति वढ्यो ।”
वेथिति रोक्नका लागि पनि राजसंस्था अपरिहार्य भएको उहाँको भनाई थियो । गणतन्त्रले जनतालाई केही राहत मिल्छ की भन्ने आश भए पनि केही हुन नसकेको उहाँले जिकिर गर्नुभयो । राप्रपा जिल्ला अध्यक्ष रुद्र ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष चेतनाथ वाग्ले, जिल्ला सदस्य माधब भट्टराई लगाएतले बोल्नु भएको थियो ।






















