काठमाडौं / राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताएका छन् । पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको तर्क छ ।
बिहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै गौतमले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएको गुनासो गरे । आफू प्रधानमन्त्रीको कटु आलोचकसँगै मित्र पनि भएको भन्दै उनले प्रतिनिधिसभा भंग गर्दा आफूलाई नसोधिएको गुनासो गरे । उनले भने, ‘उहाँले पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्यपूर्ण हुनेछ ।’
पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले संसद भंग गरेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीसामू पार्टी एकता जोगाउने अन्तिम पटक अवसर थियो ।’
उनले अघि भने, म भएको भए राजीनामा दिन्थेँ । मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो ।’





















