काठमाडौं / राष्ट्रिय झण्डासहित २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले पुस २७ गते रत्नपार्कमा सहभागी हुन आह्वान गरेको छ। समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आम नागरिक र संगठनलाई यस्तो आह्वान गरेको हो।
समितिका अध्यक्ष भरत बस्नेतले पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवको अवसरमा राष्ट्रिय झण्डासहित रत्नपार्कमा उपस्थित हुन आह्वान गरे। उनले भने, ‘नेपाली दाजुभाइ, दिदीबहीनी एवं राष्ट्रवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरु लगायत सबै दल, संगठन, संघलाई पृथ्वीजयन्तीका दिन राष्ट्रिय झण्डामा सहभागी हुन आहवान गर्दछौँ।’
उनले प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन माग सरकारसँग माग गरे। पृथ्वीनारायण शाहको अस्तित्व संकटमा पर्न नदिनु पर्ने उनको माग छ। कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले पनि भव्य रुपले पृथ्वी जयन्ती मनाउन सबैलाई आह्वान गरिन्। नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले पनि पुस २७ गते भव्यताका साथ पृथ्वी जयन्ती मनाउन आग्रह गरे।





















