चितवन / वैदेशिक रोजगारको असर र प्रभावबारे चितवनमा अन्तरक्रिया कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ । आइतबार सुरक्षित आप्रवासन परियोजना (सामी) ले भरतपुर महानगर, हेलभेटा नेपाल र मेड–नेपालसँगको समन्वयमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा सामी परियोजनाका संयोजक सूर्य प्रसाद पौडेलले आफूहरुले ‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने नारासहित यो परियोजना ल्याएको बताए । परियोजना ३९ जिल्लाका १५६ स्थानीय तहमा लागु गरिएको छ ।
परियोजनाको अवधि २०७९ असार मसान्तसम्म रहेको छ । २०७६/७७ माघदेखि चितवनमा यो परियोजना सुरु भएको थियो ।

उनका अनुसार चितवनको भरतपृुर महानगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, इच्छाकामना गाउँपालिकामा यो परियोजना सुचारु छ । यस परियोजनाबाट कुल १० लाख ४३ हजार १ सय जना लाभान्वित हुने अपेक्षा गरिएको उनले बताए ।
चितवनबाट १८ हजार ७४० जना लाभान्वित हुने अपेक्षा गरिएको उनको भनाइ छ । परियोजनाको प्रमुख उद्देश्यमा वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप, परामर्श लगायतका सहयोग प्रदान गर्ने, वैदेशिक रोजगारीमा सम्वद्ध निकायहरुको क्षमता अभिवृद्धिमार्फत वैदेशिक रोजगारीका प्रतिफल वृद्धि गर्ने रहेको छ ।
यस परियोजनाको मुख्य कार्यक्रमहरुमा सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता रहेका छन् ।

पौडेलले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा टिमलाई खटाएर कार्यक्रम सञ्चालन भइरहेको बताए । यस्तै टोलटोल र वडामा गएर भेला गरेर पनि कार्यक्रम गर्ने गरिएको उनको भनाइ छ ।
कार्यक्रममा भरतपुर महानगर सामाजिक विकास शाखाका तुलसी श्रेष्ठले परियोजना अन्तर्गत भइरहेका गतिविधिका बारेमा जानकारी दिएका थिए । श्रेष्ठले महानगरवासीलाई वैदेशिक रोजगारीमा नगई स्वदेशमै केही गर्न प्रोत्साहन गर्ने काम महानगरले गरिरहेको बताए ।
मेड नेपालका कार्यकारी निर्देशक मिनराज भण्डारीले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा टिमलाई खटाएर कार्यक्रम सञ्चान भइरहेको बताए । यस्तै टोलटोल र वडामा गएर भेला गरेर पनि कार्यक्रम गर्ने गरिएको उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा मेड–नेपालका अध्यक्ष ऋषी न्यौपाने, मेड–नेपालका कार्यकारी निर्देशक मिनराज भण्डारी, सन्देस अधिकारी भरतपुर महानगर सामाजिक विकास शाखाका तुलसी श्रेष्ठ र संगिता अधिकारी सहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।






















