काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव कुमार नेपालले प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
प्रचण्ड र माधवले बोलाए पछि पौडेल नै भेट्न गएका थिए । प्रचण्ड तथा माधव र पौडेलबीच शुक्रबार अपराह्न ४ बजेतिर भेटवार्ता भएको बताइएको छ । नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले कांग्रेस वरिष्ठ नेता पौडेलसँग करिब १ घण्टा कुराकानी गरेका स्रोतले जानकारी दियो ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको सम्बन्ध तथा भूमिकाप्रति केन्द्रीत रहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार प्रचण्ड–नेपालले देउवाको भूमिका शंकास्पद रहेको उल्लेख गर्दै पौडेलसँग भनेका छन्, ‘देउवाजीको भूमिका अलि शंकास्पद छ, तपाईंले कन्ट्रोल गर्नुप¥यो !’ उखु किसानहरुको आन्दोलनमा समर्थन जनाउन दिउँसो माइतीघर मण्डला पुगेका पौडेल त्यहिँबाट प्रचण्ड र माधव नेपाललाई भेट्न गएका स्रोतको दाबी छ ।
नेकपाका एकजना नेताको घरमा भएको भेटवार्तामा प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीले अब चाल्न सक्ने कदमबारे आकलन गर्न नसिकएको पनि बताएका छन् ।
‘ओलीजीले अब कुन स्तरको कदम चाल्छन् भन्ने हामीले अझै आकलन गर्न सकेका छैनौं । तर ओलीजीलाई यत्तिकै छाड्न पनि हुन्न, उहाँलाई सच्याउनु जरुरी भइसक्यो,’ प्रचण्ड र माधव नेपालले नेता पौडेलसँग गरेको कुराकानी उद्धृत गर्दै स्रोत भन्छ ।
आन्तरिक विवादमा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीसँग ‘संघर्ष’ गरिरहेका प्रचण्ड र माधवले कांग्रेसलाई प्रधानमन्त्रीको ‘पक्षमा उभिन’ नदिनका लागि प्रयासरत छन् । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीबीच ‘गोप्य भेटवार्ता’ पनि बढेको थियो ।
तर, प्रधानमन्त्री ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याए पनि भने देउवा पनि प्रधानमन्त्रीसँग केही चिढिएका छन् ।





















