काठमाडौं / महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता भएको पाइएपछि नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान शुरु गरेको छ ।
कर्जा प्रवाहमा भएको अनियमितता प्रकरणमा संलग्न रहेको भन्दै सीआईबीले ३ जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरु ऋणि भएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिए ।
महालक्ष्मी विकास बैंकको ललितपुरको कुमारीपाटीस्थित शाखाबाट कर्जा प्रवाहमा अनियमितता भएको भन्दै राष्ट्र बैंकमा उजुरी परेको थियो ।
राष्ट्र बैंकले कर्जा प्रवाहमा भएको अनियमितता बारे अनुसन्धानका लागि सीआईबीलाई पत्र लेखेको थियो । सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा थोरै सुन राखेर ७ करोड रुपैयाँभन्दा बढी रकम (ऋण) निकालिएको पाइएको छ ।
कर्जा प्रवाह प्रकरणमा १ दर्जनभन्दा बढी व्यक्ति विरुद्ध जाहेरी परेको छ । सीआईबीका एक अधिकारीले कर्जा प्रवाहमा भएको अनियमितता प्रकरणमा बैंकका सीईओसम्मलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने देखिएको छ ।
‘अहिले प्रारम्भिक अनुसन्धानका क्रममा ३ जनालाई पक्राउ गरिएको छ । थप अनुसन्धान भइरहेकाले अझै केही व्यक्ति पक्राउ पर्न सक्छन्,’ सीआईबीका ती उच्च अधिकारीले भने ।





















