काठमाडौं / कमानसिंह लामा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत मुछिएपछि यस विषयमा आजको स्थायी समिति बैठकमा समेत सामान्य छलफल भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको बताएका छन् । बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न आग्रह गरेका छन् ।
‘लामाको निधनबाट शोकाकुल र दुःखित भएको यस घडीमा लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टी प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ। त्यस्तो प्रचारमा नगर्न र नलाग्न अनुरोध गर्दछु’, प्रचण्डले बैठकमा भने । बैठकमा प्रचण्डले यसबारे आफूले सम्बन्धित व्यक्तिलाई राखेर कुरा गर्दा प्रवक्ताले मिल्नुस् भन्ने बाहेक अरु कुरा गरेको नपाएको बताएका थिए ।
कमानसिंह प्रकरणमा नेकपाभित्रको गुटगत विवादको बाछिटा देखिएको छ भने यही बाछिटाका कारण ओली समूहबाट श्रेष्ठबाट हमला हुँदै आएको नेकपाकै नेता कार्यकर्ता बताउँछन् ।





















