चितवन / नेपाल पत्रकार महासंघ चितवन जिल्ला समितिले आज आफ्नो साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाको उद्घाटन भने नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै केन्द्रीय वरिष्ठ उपाध्यक्ष पोख्रेलले आफूहरूले मिलेर भएपनि लोकतन्त्रलाई नासिन नदिने बताए । लोकतन्त्र र गणतन्त्रको स्थापना गर्नमा पत्रकारहरूको पनि हिस्सा रहेको बताउँदै उनले सरकारका विरुद्ध जुनसुकै खबरदारी गर्न पनि तयार भएको उल्लेख गरे । “सरकार नयाँ सोच बनाएर अघि बढ्नुपर्छ भन्ने कुरामा केन्द्रित नै छैन ।उनले पत्रकारको हकहितको लागि सधै लडिरहने कुरा व्यक्त्त गरे ।
कोरोना भाइरस महामारीका बेला समेत जोखिम मोल्दै काम गरेका पत्रकारहरूलाई सरकारले प्रतिपक्षीको व्यवहार गर्ने गरेको गुनासो उनले राखे। “मिडियाहरूले महामारीको बाहना देखाएर पत्रकारहरूलाई कामबाट निकालिदिने, विदामा बस्न बाध्न पार्ने, श्रम अनुसारको पारिश्रमिक नदिने जस्ता समस्या देखिएका छन् । यस्तो विषम परिस्थितिमा सरकारले पत्रकारका लागि पनि राहतको प्रबन्ध गर्नुपर्ने हो”, महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पोख्रेलले भने ।
कार्यक्रममा अगाडि बोलेका वक्ताहरूले कोरोना भाइरसबाट संक्रमित बनेका पत्रकारहरूले विमाको दाबी रकम नपाएको उदाहरणहरू प्रस्तुत गरेका थिए । तिनै गुनासालाई सम्बोधन गर्ने क्रममा बोल्दै वाग्मती प्रदेशका प्रेस रजिष्ट्रार रेवती प्रसाद सापकोटाले विमा रकम भुक्तानी गराउन आफूहरूले सिफारीस गर्न सक्ने आथश्वासन दिए ।
उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले प्रेसको सुरक्षा तथा स्वतन्त्रता, महासंघभित्र शुद्धीकरणको आवश्यकता, उचित पारिश्रमिक नपाएको समस्या, लगायतका विषयमा आफ्ना विचारहरू राखेका थिए । कार्यक्रममा महासंघको चितवन समितिका अध्यक्ष राधेश्याम खतिवडा, महासंघका केन्द्रीय सचिव राम प्रसाद दाहाल, महासंघका केन्द्रीय सदस्यहरू कृष्ण गिरी, पुरुषोत्तम सुवेदी तथा सृजना अर्याल, प्रेस संगठन वाग्मती प्रदेशका इञ्चार्ज विश्वमणि सुवेदी, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, लगायतले मन्तव्य राखेका थिए ।
बन्द सत्रमा आर्थिक प्रतिवेदन र प्रगति प्रतिवेदन माथि छलफल गरेपछि घोषणापत्र जारी गर्दै सभा सम्पन्न गरिएको हो । कार्यक्रममा महासंघका उपाध्यक्ष नारायण प्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम महासंघका सचिव तिर्थ नेपालले सन्चालन गरेका थिए ।
चितवन जिल्लामा रहेर क्रियाशील रूपमा पत्रकारिता गरिरहेका १३ जना पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभाको उद्घाटन शत्रमा पत्रकारहरूलाई पुरस्कृत गरिएको हो । पुरस्कार विभिन्न ७ वटा शीर्षकमा प्रदान गरिएको थियो ।
पत्रकार हरिप्रसाद पोख्रेल मैयाँदेवी पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुँदा वर्ष २०७७ को सोही शीर्षकको पुरस्कार दीपेन्द्र बडुवालले प्राप्त गरे । मैयाँदेवी पत्रकारिता पुरस्कारको राशि ५१ हजार १५१ रुपैयाँ रहेको थियो । यस्तै वरिष्ठ पत्रकारद्वय रेशम विरही र ईश्वर जोशीले क्रमशः रु ५० हजार ५१ राशिको अनन्तगंगा पत्रकारिता पुरस्कार २०७६ र २०७७ हात पारे । रु ११ हजार ३११ राशिको तिलचन साँखी पत्रकारिता पुरस्कार २०७६ बाट नारायण सापकोटा सम्मानित भए भने वर्ष २०७७ को तिलचन साँखी पत्रकारिता पुरस्कार अनिल ढकालले प्राप्त गरे ।
बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारको वर्ष २०७६ तर्फको सम्मान सरिता महतोलाई दिइयो भने सुजिता हमालले वर्ष २०७७ तर्फको पुरस्कार हात पारिन् । उता श्रुजश्री महिला पत्रकारिता पुरस्कार २०७६ बाट अनिता अर्याल सम्मानित भइन् भने सोही शीर्षकको वर्ष २०७७ को पुरस्कार सबिता दराईले ग्रहण गरिन् । यस्तै रु ११ हजार १११ राशिको उत्तरध्वज सूर्यकुमारी पत्रकारिता पुरस्कार २०७७ सूर्य पाठकले प्राप्त गरे । बालकुमारी विष्णुकुमारी अभ्युदय पुरस्कार रु ११ हजार १११ राशिको छ भने श्रुजश्री महिला पुरस्कारको राशि १० हजार १११ रुपैयाँ रहेको छ ।
यसै गरी कार्यक्रममा रु ११ हजार १११ राशिको औद्योगिक पत्रकारिता पुरस्कार २०७७ बाट होमनाथ सापकोटा र प्रविण बराल सम्मानित भएका थिए । पुरस्कृत हुने सबैलाई प्रमाणपत्र तथा चेक प्रदान गरिनुका साथै दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।






















