काठमाडौं / प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको विवाद मिलाउन संयुक्त राजनीतिक प्रतिवेदन ल्याएर अगाडि जान अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)समक्ष प्रस्ताव गरेका छन् ।
आफू पक्षका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत ओलीले प्रचण्डलाई संयुक्त राजनीतिक प्रतिवेदन ल्याएर विवाद समाधानका गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
ओलीको सन्देश बोकेर उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान प्रचण्डलाई भेट्न उनको निजी निवास खुमलटार पुगेका थिए ।
खुमलटार पुगेका पोखरेलले दुवै अध्यक्षले साझा प्रस्ताव ल्याएर पार्टी भित्रको विवाद समाधान गर्नेतर्फ लाग्नुपर्ने सुझाव प्रचण्डलाई दिएका थिए ।
‘ओलीजीको चाहना पनि संयुक्त प्रस्ताव ल्याएर नै जाऔं भन्ने छ । यसका लागि तपाईंले पनि तयार हुनुप¥यो भन्ने हो,’ पोखरेलले प्रचण्डलाई गरेको आग्रह उद्धृत गर्दै प्रचण्डको निजी सचिवालयका एक सदस्यले भने, ‘पार्टी भित्रको विवाद समाधानका लागि अहिलेका लागि उपयुक्त विकल्प भनेकै दुवै अध्यक्ष मिल्नु हो । दुवै अध्यक्ष मिलेर पार्टी कमिटीमा साझा प्रस्ताव पेश गर्नु पर्छ ।’
यसअघि बिहीबार पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि प्रचण्डसँग छुट्टा–छुट्टै छलफल गरेका थिए ।
पछिल्लो समय बुधबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली उपस्थित भएका थिएनन् । ओली बैठकमा सहभागी नभएपछि कार्यकारी अध्यक्ष प्रचण्डले मंसिर २० गतेसम्मका लागि सचिवालय बैठक स्थगित गरेका थिए ।
गत भदौ अन्तिम साता सकिएको स्थायी कमिटी बैठकबाट नेकपा विवाद समाधान भएको भनिएपनि पछिल्लो समय पुनः विवाद चर्किएको छ ।
कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले आफ्नो एकल राजनीतिक प्रस्ताव पेश गरेपछि ओली–प्रचण्डबीच नै तिक्तता बढेको विषय बाहिर आएको थियो ।
ओलीमाथि गम्भीर आरोप लगाइएको उक्त प्रस्तावमा केन्द्रीय सचिवालयका बहुमत सदस्य झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको समर्थन रहेको जनाइएको छ ।
ओलीले मंसिर १३ गते बसेको सचिवालय बैठकमा प्रचण्डको राजनीतिक प्रस्तावमा आफूमाथि लगाइएका आरोपको जवाफ दिएका थिए ।
ओलीले राजनीतिक प्रस्ताव पेश गरेपछि यो साताको मंगलबार बसेको सचिवालय बैठकले दुवै प्रस्तावमाथि छलफल अगाडि बढाउने निर्णय गरेको थियो ।
तर, ओलीले भने प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाएर पेश गरेको प्रस्ताव खारेजीको माग गर्दै आएका छन् । आफूमाथि आरोप लगाएर पेश भएको प्रस्ताव फिर्ता नभएसम्म बैठक बस्नुको कुनै औचित्य नरहेको ओलीको भनाइ छ ।
तर, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालसहितका बहुमत सचिवालय सदस्यहरु भने दुवै अध्यक्षको प्रस्ताव सचिवालय हुँदै स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म छलफलका लागि लैजानुपर्ने अडानमा छन् ।






















