चितवन / औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा आज शक्तिखोर औद्योगिक क्षेत्रको प्रगति, समिक्षा र कार्ययोजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका उद्योग सचिव चन्द्र कुमार घिमिरेले शक्तिखोर औद्योगिक क्षेत्रलाई छिटो भन्दा छिटो सञ्चालन प्रक्रियाका लागि कार्य अगाडि बढाउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको तर्फबाट पहल जारी रहने बताउनुभयो ।
आफूपनि औद्योगिक क्षेत्र निर्माणको पक्षमा रहेको बताउँदै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन प्रक्रिया अगाडि बढाइएकोले अब कसैले रोक्न नसक्ने बताउनुभयो ।
चितवन उद्योग संघका अध्यक्ष एवं बागमती प्रदेश उद्योग परिसंघ औद्योगिक नीति निर्माण समन्वय विभागका संयोजक तथा नेपाल उद्योग परिसंघ राष्ट्रिय परिषद् सदस्य राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय औद्योगिक पूर्वाधार महाशाखाका सह–सचिव तथा विशेष आर्थिक क्षेत्रका कार्यकारी निर्देशक बलराम रिजाल , औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वन, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष, शक्तिखोर औद्योगिक क्षेत्रका अभियान्ता, चितवन उद्योग संघ औद्योगिक क्षेत्र विशेष विभागका प्रमुख एवं बागमती प्रदेश उद्योग परिसंघ संगठन बिस्तार एवं उद्यमी क्षमता विभागका संयोजक भेषराज दुवाडी, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय मन्त्रालय विशेष आर्थिक क्षेत्र (सेज)का उपसचिव लवराज जोशी लगायतले शक्तिखोर औद्योगिक क्षेत्रको बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सवैलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष एवं नेपाल उद्योग परिसंघ बागमती प्रदेश सदस्य त्रिलोचन कँडेलले धन्यवाद दिनुभएको थियो ।कार्यक्रम चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको थियो ।





















