चितवन / भरतपुर महानगरपालिका–५ को नारायणपुरमा बन्ने वडा कार्यालय भवनको आज महानगर प्रमुख रेनु दाहालद्धारा शिलान्यास भएको छ ।
कार्यक्रममा प्रमुख दाहालले गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै महानगरका प्राविधिकहरुलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन दिइन् ।
प्रमुख दाहालले महानगरका गौरवका आयोजनाहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, हुलाकी मार्गको स्तरोन्नति, रिङरोड, लिंकरोड लगायतका काम धमाधम अगाडि बढिरहेको बढाउँदै वडा कार्यालयहरु वडाबासीकै आवश्यकता र सुझावका आधारमा निर्माण सुरु गरिएको जानकारी दिइन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरपालिकाले व्यवस्थित र सुविधा सम्पन्न कार्यालयहरुबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने मान्यताका साथ वडा कार्यालय निर्माणलाई तीव्रता दिएको बताए । उनले महानगरका अधिकांश वडा कार्यालयहरु निर्माण सम्पन्नको चरणमा रहेको भन्दै यो वडा कार्यालय पनि समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा महानगर प्रवक्ता अरूणपीडित भण्डारी, वडा नम्बर ६ का अध्यक्ष हरिबिलास कोइराला , वडा नम्बर ४ का अध्यक्ष हरि आचार्यले , नेपाल कम्युनिस्ट पार्टी नेकपाका वडा अध्यक्ष हरिशरण पौडेल , नेपाली कांग्रेस वडा नम्बर ५ का बुथ सहसंयोजक युवराज भुसाल र नेपाली कांग्रेसका वडा सदस्य दामोदर सुवेदीले समयमै भवन निर्माण गरी नयाँ भवनबाट सेवा शुभारम्भ गर्न शुभकामना दिएका थिए ।
एक करोड ८७ लाखको लागतमा निर्माण हुन लागेको अन्डरग्राउन्ड पार्किङ सहित ३ तलासम्म निर्माण हुने वडा कार्यालय भवनमा १० वटा कोठा रहने छन् । एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी कस्मिक कन्स्ट्रक्सनले जिम्मा लिएको छ । भरतपुर महानगरपालिकाले विद्यालय, वडा कार्यालय र स्वास्थ्य भवन गरी बितेको तीन वर्षमा १६६ वटा भवनहरु निर्माण गरेको छ ।
कार्यक्रम वडा नम्बर ५ का अध्यक्ष पदमपाणि सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष सुवेदीले तोकिएको समय सीमा भित्र गुणस्तरीय भवन निर्माण गर्न आफू निरन्तर लागि रहने बताए ।






















