काठमाडौं / सत्तारुढ दल नेकपाको आजको सचिवालय बैठक मंसिर १६ गते १ बजे बस्नेगरी सकिएकोछ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै प्रतिवेदन पेस गरेका छन।
प्रधानमन्त्रीले पेश गरेको प्रतिवेदन अध्ययन गरेर मंसिर १६ गते बस्ने गरी आजको बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
अध्यक्ष ओलीले लिखित प्रतिवेदन आफै बाचन गरेको उनको सचिवालयले जनाएको छ। अध्यक्ष ओलीको प्रतिवेदनसँगै नेकपा सचिवालयमा औपचारिक रुपमा अब दुई प्रतिवेदनमाथि छलफल हुनेछ।
यसअघि ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रचण्डले प्रतिवेदन ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ। अघिल्लो पटक बसेको सचिवालय बैठकमा जवाफी प्रतिवेदन लेख्न १० दिनको समय मागेका थिए।
सचिवालयले विवाद सुल्झाउन नसके दुबै प्रतिवेदन स्थायी कमिटी बैठकमा जानेछन्। नेकपाले यही १८ गते स्थायी कमिटी बैठक बोलाएको छ।
यस्तै २५ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ । स्थायी कमिटीमा पनि सहमति हुन नसके विवाद केन्द्रीय कमिटीमा जानेछ। गत मंसिर ३ गतेको सचिवालय बैठकपछि नेकपाका दुई अध्यक्षबीच भेटवार्ता समेत भएको छैन।
प्रचण्डको प्रतिवेदनमा सचिवालयका अन्य चारजनाले पनि सहमति जनाएका छन् ।






















