काठमाडौं / सञ्चारकर्मी रामचन्द्र अर्याल र विष्णु खड्कालाई कोरोना डिफेन्स अवार्ड कोरोना महामारी नियन्त्रणका लागि पत्रकारिताका माध्यमबाट समाजमा चेतना फैलाउन योगदान पुर्याएबापत कोरोना डिफेन्स अवार्ड-२०२० बाट सम्मान गरिएको छ। पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका पत्रकार अर्याल, खड्कासहित पाँच जना पत्रकारलाई अवार्ड दिइएको हो।
सामाजिक क्षेत्रमा काम गर्दै आएको फोकस नेपालले एक समारोहबीच उनीहरूलाई सम्मान गरेको हो। विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका बाबजुत पनि समाजमा चेतना फैलाउन दिनरात खटेर समाजमा सजकता र सतर्कता अपनाउन जनचेतनामूलक कार्यक्रम एवं समाचार प्रशारण गरेर महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको आयोजक संस्था फोकस नेपालले जनाएको छ।
एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा आबद्ध सञ्चारकर्मी अर्याल हाल हिमालय टेलिभिजनमा समाचार डेस्क सम्पादकका रूपमा कार्यरत छन्। यस्तै एपी वान टेलिभिजनमा रिपोर्टिङ कोओर्डिनेटरका रुपमा कार्यरत खड्का पनि लामो समयदेखि पत्रकारिता गर्दै आइरहेका छन्।
सगरमाथा टेलिभिजनका डेस्क सम्पादक रमेश वाग्ले, एबिसी टेलिभिजनकी समाचार प्रस्तोता सन्तोषी अधिकारी र नेपाल टेलिभिजनका समाचारदाता ईश्वर महर्जन पनि अवार्डबाट सम्मानित भएका छन्। ‘कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकार र नागरिक समाजको भूमिका” विषयक विचार गोष्ठी तथा कोरोना डिफेन्स अवार्ड कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सम्मान गरेका हुन्।
कार्यक्रममा शहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले कोरोना महामारी नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताए। मन्त्री मानन्धरले नेपालले कोरोना नियन्त्रणका लागि गरेको प्रयास दक्षिण एसियाकै उत्कृष्ठ भएको बताउँदै नागरिक समाजले पनि सकारात्मक काम गरिरहेको बताए। उनले महामारीका समयमा आफ्नो जिउ–ज्यानको बाजी लगाएर सञ्चार, उद्योग, समाजिक, आर्थिक क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको सरकारले उचित सम्मान गर्ने बताए ।
कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सामाजिक रुपान्तरणका लागि योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्न पाउनु खुशीको कुरा रहेको उनले प्रस्ट पारे।





















