काठमाडौं / तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष समेत रहेका न्यौपानेलाई बुधबार चण्डोलस्थित निवासबाटै पक्राउ गरिएको हो ।
न्यौपानेविरूद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको छ।
नेपाल इन्जिनियरिङ कलेजमा न्यौपाने २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो पटक कार्यकारी अध्यक्षको रुपमा कार्यरत थिए । यस्तै उनको दोस्रो कार्यकाल २०७० मंसिर २३ देखि ०७५ असोज १५ गतेसम्म अध्यक्षको रुपमा कार्यरत थिए ।
इन्जिनियरिङ कलेजमा ठगी गरेको आरोपमा कांग्रेसका पूर्वसांसद सूर्यबहादुर केसी, जावलाखेलका रामरत्न उपाध्याय, विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लबराज भट्टराई प्रतिवादी छन् । कांग्रेस सांसद केसीको भने निधन भइसकेको छ ।
कलेजमा उनीहरुविरुद्ध तथ्यगत बिगो ८ करोड २१ लाख ६ सय ५० रुपैयाँ छ । यस्तै लेखा परीक्षणबाट खुल्न आएको बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
न्यौपानेको नाममा मात्रै ३ करोड ७१ लाख ५३ हजार ६ सय ५० रुपैयाँ बराबरको ठगी गरेको आरोप छ ।





















