बर्दिबास / प्रहरीले महोत्तरीको बर्दिबासमा गोली चलाएको छ । ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीको चलाएको गोली लागेर एक जना घाइते भएका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ ।
गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपानेको पिनाकल अस्पतालमा उपचार भइरहेको छ ।
आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या आरोपीको घरमा आगजनी समेत गरेका छन् ।
बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।
आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ ।





















