काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव आएपछि जारी विवादको समाधान खोज्न सजिलो हुने बताएका छन् ।
सोमबार आफ्नै निवासमा भेट्न आएका पार्टीका स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग कुराकानी गर्दै प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश भएको आफ्नो प्रतिवेदन गलत नभएको पनि बताएका छन् ।
आफूले पेश गरेको प्रतिवेदनका कारण पार्टी फुटसम्म नजाने पनि प्रचण्डले बताएका छन् । ‘मनमा कुरा गुम्साएर राख्नुभन्दा जानकारी भएकै राम्रो हुन्छ भन्ने हिसावले मैले प्रतिवेदन ल्याएको हुँ,’ रायमाझी र गजुरेलसँग प्रचण्डको भनाइ थियो, ‘मेरो प्रतिवेदन छँदैछ, अब ओलीजीले पनि प्रतिवेदन ल्याउनु हुन्छ । दुवै प्रतिवेदनमा छलफल हुन्छ र कसरी अगाडि बढ्ने भन्ने निर्णय हुन्छ ।’
अध्यक्ष प्रचण्डले अहिले अवस्थामा दुवै अध्यक्षबाट साझा प्रस्ताव आउने सम्भावना भने नरहेको बताए । एउटा प्रतिवेदन (प्रस्ताव) आइसकेपछि त्यसको जवाफका रुपमा अर्को प्रतिवेदन आउँदा नै समाधान खोज्न सजिलो हुने प्रचण्डको भनाइ थियो ।
प्रचण्डलाई भेट्न गएका नेताद्वय रायमाझी र गजुरेलले अहिलेको आवश्यकता भनेको पार्टी एकता जोगाउनु रहेकोतर्फ प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
दुवै जनाले पार्टीलाई फुटबाट जोगाएर नै विधि र पद्धतिमा चल्ने अवस्था लैजानुपर्छ भन्ने सुझाव दिएको नेता गजुरेलले जानकारी दिएका छन् ।
जवाफमा प्रचण्डले पार्टीलाई फुटबाट जोगाउन आफू लागिरहेको र फुटसम्म जान नदिने बताए ।





















