झापा / झापाको मेचीनगर नगरपालिका वडा नं १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (युएई) मा बुधबार अन्त्येष्टि गरिएको छ ।
युएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उनको हृदयाघातबाट मृत्यु भएको थियो । लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले अर्थ सङ्कलन गरेका थिए ।
नेपाली समाज युएई र नेपाली समाज युएईको पहलमा मृतकको अन्त्येष्टि गरिएको जनाइएको छ । यसका लागि झापाको मेचीनगरमा रहेकी उनकी छोरी रीतु थापा र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले लिखित स्वीकृति दिएको युएईमा रहेका सञ्चारकर्मी रामप्रसाद ढुङ्गानाले जानकारी दिए।
वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गत वर्ष २०१९ को नोभेम्बर महिनातिर युएईको रसअल खेमामा रहेको प्रिमियर प्रोजेक्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका थिए। उहाँले १३ नोभेम्बर २०१९ मा ०४५०३३३५० नम्बरको श्रम स्वीकृति लिएका थिए। यसैगरी उनले युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट ७६७७०२६९८१ नम्बरको बीमा पोलिसी लिएको पाइएको छ । बीमाको म्याद ५ अक्टोबर २०२२ सम्म रहेको सञ्चारकर्मी ढुङ्गानाले बताए ।
थापा रास अल खेमाको नखिल भन्ने स्थानमा नेपालीहरुसँग मिलेर कोठा भाडामा बस्नुभएको र उहाँलाई दिउँसो २ बजेतिर कोठामै मृत भेटिएको बताइएको छ । नेपालीहरुसँगसँगै बसे पनि साथीलाई उहाँले आफ्नो घर ठेगानाबारे खुलाएका थिएनन् । उनको पासपोर्ट पनि लामो समय नभेटिँदा शव धेरै दिनसम्म अस्पतालमा बेवारिसे बनेको थियो ।





















