काठमाण्डौं / लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफामा सामान्य सुधार देखिएको छ।
गत आर्थिक वर्षको असोज मसान्त सम्ममा ९ करोड ६७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आवको सोही अवधिसम्ममा ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेको र इमेरिमेन्ट चार्ज घटेका कारण बैंकको नाफामा सुधार देखिएको हो।
बैंकले असोज मसान्तसम्ममा २४ करोड ९५ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ५ करोड ७४ लाख ७ हजार रुपैयाँ कम हो। गत आवको असोज मसान्तसम्ममा बैंकले ३० करोड ६९ लाख ४२ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २ करोड १२ लाख ३८ हजार रुपैयाँ बढेर १५ करोड ९६ लाख ५० हजार रुपैयाँ पुगेको छ। गत आवको असोज मसान्त सम्ममा ५ करोड २८ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज २ करोड ४२ लाख रुपैयाँमा सीमित भए सँगै अन्य सञ्चालन आम्दानी ४ करोड ४५ लाख रुपैयाँ बढेसँगै बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। २ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा कायम भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ रुपैयाँ ४९ पैसा बढी हो। असोज मसान्तसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ रिटेन्ड अनिङ्गमा २१ करोड ३ लाख रुपैयाँ र शेयर प्रिमियममा ७६ हजार रुपैयाँ रहेको छ। गत आवको अन्त्यसम्ममा यी तीन कोषहरुमा क्रमशः १ अर्ब ३१ करोड ९७ लाख, १८ करोड ९२ लाख र ७६ हजार रुपैयाँ रहेको थियो।
असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९८ पैसा र मूल्य आम्दानी अनुपात १३.१९ गुणा कायम भएको छ। त्यसैगरी, बैंकको रिटर्न अन टोटल एसेट्स १.१७ प्रतिशत रहेको छ।
असोज मसान्तसम्ममा बैंकले ३२ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ४५ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निष्क्रिय कर्जा २ प्रतिशतबाट बढेर २.३६ प्रतिशत पुगेको छ। त्यसैगरी, बैंकको बेस रेट ११.३० प्रतिशतबाट ९.६५ प्रतिशतमा झरेको छ भने स्प्रेड रेट ५.२८ बाट ५.१४ प्रतिशतमा झरेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ११ लाख ५१ हजार रुपैयाँ रहेको छ।





















