काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट आफूले राजीनामा नदिने बताएका छन् । मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै ओलीले आफूले राजीनामा दिनु भनेको बर्बादीतिर जान दिनु भएको समेत उनले उल्लेख गरे ।
आफूले राजीनामा दिन लागेको भनेर सञ्चारमाध्यममा हल्ला फैलाइएको भन्दै उनले राजीनामा नदिने प्रष्ट पारेका छन् । उनले भने, ‘सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ, प्रधानमन्त्री राजीनामा दिन पर्यो । तर तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ? अहिले राजीनामा दिनु भनेको बर्बादीतिर जान दिनु हो।
त्यसकारण म राजीनामा दिनेवाला छैन। उनले भने, ‘मैले अहिले राजीनामा दिन मिल्छ ? व्यापक जनसमर्थनबाट हो यो ठाउँमा आएको हो। ढुक्क भएर काममा लाग्नुस्, सरकार फेरिन्छ बदलिन्छ कि भन्ने होइन। केही हुनेवाला छैन ।’
प्रधानमन्त्री ओलीले जेमा पनि आलोचना गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘भित्र बाहिर अनेक कोसिस त भए। जेमा पनि आलोचना गर्ने ? देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रवृत्तिबाट प्रभावित नभइ काम गर्नुपर्छ।’
ओलीले स्थिरताका लागि आफूले काम गरिरहेको र स्थिरताले विकास तथा परिवर्तन ल्याउने दाबी पनि गरेका छन् ।





















