काठमाण्डौं / पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको कोरोना संक्रमणका कारण निधन भएको छ। निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।
आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको निधन भएको महराका छोरा राहुल महराले जानकारी दिए। उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। आज बुधबार बिहान ६:२५ बजे उनको निधन भएको हो।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई दाङबाट कात्तिक १४ गते हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।
महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्। उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।





















