बागलुङ / जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार राती देखि आगामी कात्तिक २४ गते रातको १२ बजे सम्मका लागि बागलुङ बजार लकडाउन गर्न आदेश जारी गरेको छ।
सोमबार भएको सर्वपक्षीय बैठक, जिल्ला सुरक्षा बैठकको निर्णय तथा बागलुङ नगरपालिका र उद्योग बाणिज्य संघको सिफारिस तथा अनुरोधमा लकडाउन गर्ने आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायी, जनप्रतिनिधिको बैठकले गरेको निर्णयपछि सुरक्षा समितिले पनि निर्णय गरेको थियो। प्रशासनले संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार बानपा वडा नं. १, २, ३ र ४ को क्षेत्रमा लकडाउन गराउने निर्णय गरेको हो।
लकडाउनको समयमा एम्बुलेन्स, अत्यावस्यक ढुवानी, दूध र फलफूलका सवारीलाई चल्न दिइनेछ। त्यस्तै प्रेस पास भएका सवारी र औषधिजन्य वस्तुको ढुवानी पनि चल्नेछन्। त्यस्तै लकडाउनका बेला अत्यावस्यक बाहेकका पसल, व्यवसाय, शैक्षिक संस्था, सवारी साधन समेत बन्द गराउने निर्णय गरेको प्रजिअ सुरेश न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ।





















