काठमाडौं /अन्तर्राष्ट्रिय स्तरको भनिएको ग्राण्डी अस्पतालले उपचारको नाममा चर्को शुल्क उसुल्ने गरेको छ । जसका कारण सर्वसाधारण उक्त अस्पतालको पहुँच बाहिर रहेका छन् । सामान्य चिकित्सकलाई देखाउँदा १ हजार असुल्ने उक्त अस्पतालले लापरवाही पनि उत्तिकै गर्दै आएको छ ।
सामान्य रोगको उपचार गराउन अस्पताल भर्ना परे पनि अस्पतालले दैनिक ५० हजार रुपैंया धरौटी लिने गरेको छ । दैनिक धरौटी रकम नराखे बिरामीको उपचारनै नहुने एक भुक्तभोगी बताउँछन् ।
हाम्रो खबरमा समाचार छ , ग्राण्डीले उपचारका नाममा विभिन्न शिर्षकमा छुट्टाछुट्टै महंगो शुल्क लिने गरेको छ । अन्य नीजि अस्पतालको तुलनामा करिब दोब्बर शुल्क असुल्ने अस्पतालले यतिबेला कोरोना संक्रमणका विरामीबाट दैनिक एक लाख भन्दा बढी असुल्दै आएको छ ।
उक्त अस्पतालमा उपचाररत एक कोभिड–१९ का विरामीका अनुसार, एउटा विरामीलाई हेर्न एकै पटक दश जना चिकित्सकहरुको समूह आउने र उनीहरुको छुट्टाछुट्टै शुल्क विरामीको बिलमा थपिने गरको छ । त्यस्तै नर्स एवं स्वास्थ्य सहायकहरुको दैनिक चार्ज पनि विरामीले ब्यहोर्नुपर्छ ।
औषधी लगायत अन्य ल्याबको शुल्क पनि अत्याधिक महंगो रहेको उनले बताए । आइसीयू र अन्य बेडहरुको शुल्क पनि अन्य अस्पतालहरुको तुलनामा तेब्बर रहेको उनको भनाइ छ ।
उता अस्पताल प्रशासनले भने अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गरेकाले शुल्क बढी नभएको बताउँदै आएको छ ।
लापरवाहीको पछिल्लो उदाहरण
पछिल्लो उदाहरण हुन्, काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका काठमाडौँ बौद्धका ३७ वर्षीय पुष्प रिसाल । उनी २० दिनअघि निमोनियाको सामान्य लक्षण देखिएपछि ग्राण्डीमा भर्ना भएका थिए । तर, अस्पतालको चरम लापरवाहीका कारण भर्ना भएको १८ दिनपछि उनको मृत्यु भयो ।
निमोनिया देखिए पनि अस्पताल लग्दा उनको स्वास्थ्य अवस्था जटिल भने थिएन । गत असोज २१ गते कोरोना पोजेटिभ भयो भनेर अस्पतालले उनका श्रीमती समेतलाई पनि भेट गर्न दिएन । परिवारले उपचार गरेको फोटो हेर्छौँ भन्दा पनि अस्पताल प्रशासनले वास्ता गरेन ।
१८ दिनसम्म अस्पतालमा राख्दा के समस्या थियो, कसले उपचार गरिरहेको छ भन्ने पत्तो पाएन, परिवारले । शुरुमा कोरोना पोजेटिभ भनिए पनि १७ दिन बित्दा पनिपुनः परीक्षण नै नगरी अस्पतालले उनको उपचार गरिरहेको थियो । अनि १८ औँ दिनमा बिरामीको मृत्यु भयो भनेर जानकारी दिइयो र कोरोना पोजेटिभ भएका कारण सेनाले शव लैजाने पनि बताइयो ।
तर परिवारको विरोधका कारण त्यसको एक दिनपछि कोरोना रिपोर्ट नेगेटिभ देखाइयो । त्यसपछि १० लाख रुपैयाँ तिरेर शव लैजानुस् भन्ने उर्दी अस्पतालले जारी गर्यो । १८ दिन अस्पतालमा राख्दा परिवारले ग्राण्डी ४० लाख तिरिसकेको थियो । अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै सत्यतथ्य बाहिर नल्याएसम्म शव नउठाउने परिवारको अडान छ ।





















