पर्सा / मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत दर्ता भएको छ ।
नेकपाका नेता तथा पुर्व संविधानसभा सदस्यसमेत रहेका राजकुमार गुप्ता सहित १२ जना माथि मुद्दा दर्ता भएको हो ।
गत बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार वीरगन्जमा मृत्यु भएको थियो ।
पर्सा जिल्ला प्रहरी कार्यालयले एक हप्तासम्म किटानी जाहेरी लिन नमानेपछि पिडित पक्षले सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराएका हुन् । गुप्ता नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता भएकै कारण बालुवाटारको दवावमा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको पिडित पक्षको आरोप छ ।
नेता गुप्तासहित १२ जनालाई पुर्पक्ष बनाई दर्ता गर्न खोजिएको मुद्दा पर्सा प्रहरीले गुप्ता नाम हटाए मात्रै मुद्दा दर्ता गर्न सकिने बताएपछि वकिल कार्यालयमार्फत मुद्दा दर्ता गराइएको हो ।
झडपको भिडियो फुटेजमा चौराशियालाई भाटा प्रहार गर्दै गरेका २ जनालाई प्रहरीले गुप्ताकै घरबाट पक्राउ गरेको थियो ।
मुद्दा दर्ता भएपछि शुक्रबार शवको पोस्टमार्टम गरी दाहसंस्कार गरिने परिवारले जनाएको छ ।





















